NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड रोक्ने सबै उपाय अपनाउन देउवाको माग

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणको गति बढेको भन्दै संक्रमण रोक्न सबै उपाय अपनाउन सरकारसँग माग गरेका छन् । संक्रमणको दर तीव्र गतिमा बढेको भन्दै देउवाले आइसियु र भेन्टिलेटरको संख्या थप्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा वढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आ.ई.सि.यू. र भेन्टीलेटरको आवश्यकता पर्नेको संख्या पनि वढदो छ । अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा वढेको छ । संक्रमीतहरुको उपचार पूरागर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ’ विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु । साथै संक्रमीतहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकार गम्भीर हुन माग गर्दछु ।’ खोपको व्यवस्था गर्न आग्रह देउवाले संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै कुटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणवाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय हो । यस तर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन सकेको छैन । मीत्रराष्ट्र भारतवाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महशुस भएको थियो । चीनवाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ’ देउवाले भनेका छन्, ‘यस सहयोगका लागि दुवै मीत्रराष्ट्रहरुलाई धन्यवाद दिन चाहन्छु । देशको सम्पूर्ण आवश्यकता पूर्तिगर्न हामीलाई अझ ठुलो संख्यामा खोपको आवश्यकता छ । चाडो भन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता वढाउन पनि सरकारसँग माग गर्दछु ।’ विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकता भन्दा पनि वढी संख्यामा अग्रिम बुकिङ्ग सुरक्षित गरिसकेको भन्दै देउवाले भनेका छन्–अग्रिम बुकिङ्ग गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ्ग भएको संख्यामध्येबाट खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मीत्रराष्ट्रहरुसँग अनुरोध गर्दछु ।’ कोभिड–१९ वाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि उनले नागरिकहरुलाई अपील गरेका छन् ।