NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रधानमन्त्री शिलान्यासमा होइन स्वास्थ्य उपकरणको व्यवस्थापनमा लाग्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार जनताको स्वास्थ्य समस्याप्रति जिम्मेवार नबनेको आरोप लगाएका छन् । उनले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेका छन् । ‘स्वास्थ्यसेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनेको सट्टा वर्तमान सरकारका प्रधानमन्त्रीको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ प्रचण्डले सोमबार साँझ एक विज्ञप्तिमार्फत भनेका छन् । उनले महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनतामा पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रलाई समेत अपिल गरेका छन् । कोरोना नियन्त्रणमा लाग्न कार्यकर्तालाई आग्रह अध्यक्ष प्रचण्डले विश्व स्वास्थ्य संगठनलेसमेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराएको सन्दर्भमा तीनवटै तहका सरकार तथा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले स्वास्थ्य स्वयम्सेविका रुपमा महामारी विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गरेका छन् । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थयकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै उनले स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन सबैलाई विशेष अनुरोध गरेका छन् ।