NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यातायात सञ्चालनमा सरकारले विभेद गरेको गुनासो, स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक सवारी सञ्चालन गर्ने चेतावनी

काठमाडौं । सरकारले यातायात सञ्चालनमा विभेद गरेको यातायात व्यवसायीको गुनासो छ । गतवर्ष लामो समय बन्द भएका कारण यातायात क्षेत्र धराशायी भएको र यस वर्ष पनि सरकारको विभेदकारी नीतिका कारण धराशायी हुने सम्भावना बढेको यातायात व्यवसायीको गुनासो छ । सरकारले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ । १६ गतेपछि सार्वजनिक यातायात बन्द गरिएको छ । तर, विमान बारे भने अहिले निर्णय नहुने बताएको छ । यता यातायात व्यवसायीले भने हवाई यात्रालाई छुट दिएर सार्वजनिक यातायातमा निषेध गरिएको आरोप लगाएका छन् । जहाजले स्वास्थ्य प्रोटोकल अपनाएर यात्रु बोक्ने पाउने तर आफूहरुले किन नपाउने भन्दै प्रश्न गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाई यातायातमा एकैखालको नीति लागू हुनुपर्ने बताए । ‘हवाई यात्रालाई स्वास्थ्य प्रोटोकल अपनाएर यात्रु बोक्न छुट दिने तर हामीलाई भने पूर्ण रुपमा निषेध गर्ने नीति चित्त बुझेको छैन । यसले त बल्लबल्ल उठ्न लागेको यातायात व्यवसाय झन् धरासायी हुने अवस्थामा पुग्छ’, उनले भने । आफूहरुले सरकारलाई ध्यानाकर्षण गराएकाले दुई दिन निर्णय कुर्ने उनको भनाइ छ । ‘हामीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रशासनमा पत्र पठाएर समान खालको नीति अपनाउन अनुरोध गरेका छौं,’ उनले भने, ‘यो दुई दिन निर्णय कुर्छौं । यदि सरकारका तर्फबाट कुनै निर्णय आएन भने पनि हामी स्वास्थ्य मापदण्ड अपनाएर सवारी सञ्चालन गर्छौं ।’ यातायात व्यवसायीले यदि भयावह अवस्था नै हो भने अत्यावश्यक बाहेक अरु सबै यातायातका साधन रोक्नुपर्ने माग गरेका छन् । महासचिव सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे । सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।