NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

माओवादी केन्द्रको सबै कमिटीमा अब ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब केन्द्रदेखि वडा तहसम्मका सबै कमिटीहरुमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य सुनिश्चित गराउने निर्णय गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले अबदेखि सबै तहका समितिहरुमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गराउने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि भने महाधिवेशन कुर्नुनपर्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकपछि निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘आजको बैठकले पार्टीको विधान संशोधनलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । साथै अब माथिल्लो कमिटीदेखि तल्लो तहसम्म ३५ प्रतिशत महिला प्रतिनिधिको सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । त्यो महाधिवेशनमा मात्रै होइन, अब देखि नै सुरु हुन्छ ।’ यस्तै बैठकले सबै तहका कमिटहिरुमा १५ प्रतिशत उत्पीडित र दलिय समुदायबाट प्रतिनिधित्व गराउने निर्णय पनि गरेको छ । साथै प्रदेश, जिल्ला र पालिका तहमा रहेका समितिहरुमा त्यहाँको जनसंख्या हेरेर दलित प्रतिनिधि थप दुई प्रतिशत राख्नुपर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । सबै तहका कमिटीहरुमा ४० वर्ष नकटेका युवाहरुलाई कम्तिमा ३० प्रतिशत प्रतिनिधित्व गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैठकले सरकारलाई कोरोना नियन्त्रणका लागि संवेदनशील बन्न पनि आग्रह गरेको छ । तत्काल सबै जिल्लामा कोभिड विशेष अस्पताल बनाएर त्यहाँ जनशक्तिसहित उपकरणको व्यवस्था मिलाउन पनि माग गरिएको छ । अन्य बिरामी र कोभिडका बिरामी सँगै राख्दा झन् संक्रमणको जोखिम बढ्ने भएकाले छुट्टै उपचारको व्यवस्था मिलाउन पनि माओवादी केन्द्रले माग गरेको छ । यस्तै, भारतमा भयावह स्थिति सिर्जना भएको र त्यसको प्रभाव सिधै नेपालमा पर्ने भएकाले सीमा क्षेत्रमा कडाई गरी नेपालीलाई मात्र भित्रिने वातावरण मिलाउन बैठकले सरकारसँग माग गरेको नेता श्रेष्ठले जानकारी दिए । कोभिडको प्रभाव तल्लाे तहका नागरिकलाई पर्ने भएकाले उनीहरुलाई तत्काल राहत प्याकेजमार्फत सरकारले दायित्व पूरा गर्नुपर्ने माग पनि गरिएको छ ।