काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
काठमाडौं । सरकारले काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले बुधबार साँझ सूचना जारी गर्दै भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको जनाएको छ । वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचनामार्फत जानकारी दिएका छन् । उक्त सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुको कारण भने खुलाइएको छैन । तर, खोप लगाउने कार्यमा भीडभाड बढी भएपछि संक्रमणको जोखिम भने बढेको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।
प्रतिक्रिया