NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

ओखलढुङ्गामा भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज

ओखलढुङ्गा । यहाँको खिजीदेम्बा गाउँपालिका-७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परेको छ । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । जिल्लाबाट प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठको कमान्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमान्डमा गएको ९ जनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । ‘निकै पुरानो बम रहेछ । सुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरङ्ग दिनेगरी पड्कियो । सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘यत्तिका दिनसम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।’ कतै त्यस्तो शङ्कास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ । तत्कालीन माओवादीले द्वेन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । द्वन्द्वकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् । (रासस)