NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

कर्णालीमा दैनिक ७५ प्रतिशतले थपिँदै कोरोना सङ्क्रमित

सुर्खेत । कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कर्णाली प्रदेशमा बढ्दो छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि सर्वसाधरणमा त्रासको वातावरण बनेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साताअघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारबाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ सम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँडडुल तथा आवतजावतमा कडाइ गरेका छन् । कोरोना सङ्क्रमणमा अत्यधिक प्रभावित भएका भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने कुरालाई गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको जनाएको छ । यद्यपि सङ्क्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका सङ्क्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा. डा. डम्बर खड्काले बताए । ‘यो एक/दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल सङ्क्रमण दर जान सकेको छैन,’ उनले भने, ‘सङ्क्रमितहरुले अस्पताल भरिभराउन हुन थालेका छन् । यो आपत्‌कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।’ उनका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आईसीयू बेड ३५ वटा र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले उपकरण सञ्चालन गर्ने जनशक्ति भए सय बेड आईसीयू पनि चलाउन सकिने दाबी गरे । केही दिनमै अस्पताल नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उनको भनाइ छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १४३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् । निर्देशनालयका अनुसार सङ्क्रमितमा दैलेखका ३२, सल्यानका २९, कालिकोटका १०, रुकुम पश्चिमका ९, जुम्लाका ८, जाजरकोटका ७, डोल्पाका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार ८९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९८१ छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म कर्णालीमा पीसीआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट ६ हजार ४६० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज हुँदा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ७ हजार ५३८ पुगेको छ । प्रदेशभर २३० कोरोनाका बिरामी आइसोलेसनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमितहरुको अवस्था गम्भीर छ । (रासस)