NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रामचन्द्र पौडेलको आक्रोश, ‘सांसद शाही चलखेलमा परे, अब एक मिनेट पनि सांसदमा राख्नुहुन्न’

काठमाडौं । बुधबार गण्डकी प्रदेशसभामा भएको राजनीतिक घटनाप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन् । आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाए । सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको पौडेलको भनाइ छ । उनले अन्तिम समयमा आएर फर्जी पीसीआर रिपोर्ट बनाएको भन्दै स्वास्थ्य सँस्थामाथि नै कारबाही गर्नेपर्ने बताए । नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । ‘सांसद शाही चलेखेलमा परिसके । अब उहाँलाई जनमोर्चाले एक मिनेट पनि सांसदमा राख्नु हुँदैन’, नेता पौडेलले भने । गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही फोन स्विच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही बेपत्ता भएका थिए । जनमोर्चाकी सचेतक पियारी थापाले संसदमा आफ्ना सांसद हराएको भन्दै सार्वजनिक गरिदिन निवेदन दर्ता गराएकी थिइन् । करिब दुई घण्टापछि मात्रै शाहीले आफू अस्पतालको आईसीयूमा रहेको जानकारी गराएका थिए ।