NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

माथिल्लो तामाकोशीको सुरुङमा पानी खसालियो

काठमाडौं । ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरे । पानी सुरुङमा खसालिएसँगै हप्ता–दश दिनमा सुरुङ भरिनेछ । सुरुङ भरिएपछि ‘वैशाखभित्रै एक युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ । केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए । पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ । उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुनेछ । सबै युनिट जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए । बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको लागत बढिरहेको छ । कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो । आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ । हालसम्म करिब ८३ अर्ब रुपैयाँको लागत निस्किसकेको छ। कम्पनीले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण ४० अर्ब छ ।