NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र– सांसदलाई कारबाही भएको छैन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको प्रष्ट पारेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको प्रष्ट पारेका हुन् । अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको उल्लेख गर्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने समेत स्पष्ट पारेका छन् । जसपा अध्यक्ष ठाकुरले बिहीबार लुम्बिनी प्रदेशसभाका सभामुख घर्तीलाई पठाएको पत्र । जसपा लुम्बिनी प्रदेश संसदीय दलको वैशाख १६ गतेको पत्रअनुसार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो । जसपका यी चार सांसदहरु नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा केही दिनअघि सहभागी भएका थिए । बिहीबार पत्र पठाउँदै ती चार सांसदलाई जसपाको केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको ठाकुरले स्पष्ट पारेका हुन् । जसपामा पूर्वराष्ट्रिय जनता पार्टीका नेताहरु ठाकुर–राजेन्द्र महतो र पूर्वसंघीय समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई–उपेन्द्र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे फरक धारणा आइरहेको छ । ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे जसपाका यी दुई पक्षका नेताहरुबीच फरक विचारको प्रभाव लुम्बिनी प्रदेशको सरकारमा देखिएको हो ।