NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

माओवादीविना ओलीले यसरी पुर्‍याउन सक्छन् १३८ सिटको बहुमत, यस्तो छ संसद्को अंकगणित

काठमाडौं । आइतबार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै उनी पुनः मुख्यमन्त्रीमा नियुक्ति भएकै दिन केन्द्रमा पनि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने घोषणा गरेका छन् । आफूसँग असन्तुष्ट रहे पनि माओवादीले समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओली आफैं एक कदम अगाडि सरेर विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । यसको जानकारी ओलीले आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गराइसकेका छन् । २७ वैशाखमा संसदको अधिवेशन बोलाउने र विश्वासको मत लिने प्रक्रिया अघि बढाउनेबारे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत आइतबार नै छलफल गरे । संसदमा बहुमत पुर्‍ याउन प्रधानमन्त्रीलाई १३८ सांसदको आवश्यकता पर्छ ।प्रधानमन्त्री ओलीले माओवादीले समर्थन नगरे पनि जसपालाई मनाएर आफूले संसदमा विश्वासको मत लिने प्रयासस्वरुप विश्वासको मत लिने भएका हुन् । संसदमा एमाले एक्लैको १२१ सिट छ । यस्तोमा बहुमत अर्थात् १३८ सिटको संख्या पुर्याउन उनी मात्रै १७ भोटले पछाडि छन् ।पार्टीभित्रकै माधव नेपाल पक्ष असन्तुष्ट भएर भोट नहाले एउटा पाटो हो अन्यथा उनले १७ भोट थप जुटाउन सक्दा बहुमत प्राप्त गर्नेछन् । यस्तोमा ६३ सिट (२ सांसद निलम्बन) भएको कांग्रेस र ४९ सांसद रहेको माओवादीको समर्थन ओलीलाई हुने देखिंदैन । यस्तोमा प्रधानमन्त्रीको आशा ३४ सिट( २ सांसद निलम्बनपछि ३२ सिट रहेको जसपामाथि छ । जसपामा अन्तरविरोध तीव्र भइरहेका बेला मुद्दा फिर्तासहितका प्रक्रिया अघि बढाएर प्रधानमन्त्रीले आफूले समर्थन जिति छोड्ने दाबी गर्दै आएका छन् । तर, ३२ सिट भएको जसपाको एकल भोट पाउन प्रधानमन्त्रीलाई सहज भने छैन । जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कुनै हालतमा प्रधानमन्त्रीको पक्षमा नउभिने तयारीमा छन् । ३२ मध्ये उनीहरुले गत शुक्रबार राति मात्रै १८ जनाको हस्ताक्षर ओलीविरुद्ध जुटाएको सार्वजनिक गरेका थिए । महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिए आफूहरुले विपक्षमा भोट उनीहरुले चुनौती दिंदै आएका छन् ।तर, प्रधानमन्त्रीले मधेसकेन्द्रित दलहरुको विश्वास जित्न एक सयभन्दा बढीको मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइसकेका छन् । यसले आफूहरुलाई ओलीतिर जान सकारात्मक वातावरण सिर्जना गरेको ठाकुर र महतोसहितका नेताहरुले प्रतिक्रिया दिएका छन् । जसपा पार्टीको संसदमा ३२ सिट छ । पूरै जसपाले ३२ सिटसहित साथ दिए ओलीले १५३ मत पुर्याउन सक्छन् । यस्तोमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका एक एक गरी तीन सिट बढाउन सके १५६ सिट पुग्ने देखिन्छ । तर, सहजै ओलीले यति मत पुर्याउन भने निक्कै कसरत र विश्वास जित्नुपर्ने हुन्छ । पूर्व राजपामा रहेर अध्यक्ष मण्डलमा रहेका नेता महेन्द्रराय यादवले यसपटक महन्थहरुलाई छोडेर बाबुराम उपेन्द्र यादवलाई रोजेका छन् । यस्तोमा पूरै जसपा एकै ठाउँमा उभिनेमा आशंका बढेर गएको छ । जसपा हुनु अघि पूर्व राजपा र समाजवादीका समान १७१७ सांसद थिए । दुवै तर्फका एक एक निलम्बनपछि १६१६ सांसद छन् । बहुमत पुर्याउन जसपालाई विभाजित गरेर भए पनि बहुमत पुर्याउने रणनीतिमा ओली रहेको बुझिन्छ । जसपा विभाजित भए ओलीले आफ्नो दलको १२१ मा १७ सिट थप जुटाउनुपर्ने हुन्छ । यस्तोमा जसपाको आधा हिस्सा र अन्य जनमोर्चा, नेमकिपा र स्वतन्त्रको मत जुटाउन सक्दा बहुमत जुटाउन सक्छन् । तर, ओलीको विकल्पमा ६१ सिट भएको कांग्रेस, ४९ सिट भएको माओवादीलाई जसपाको ३२ सिट नै बहुमतका लागि आवश्यक पर्छ । यी दलको पूरै मत जोड्दा बल्ल १४२ मत पुग्छ । तर, अहिलेसम्मको अवस्था हेर्दा सिंगो जसपा कांग्रेस र माओवादीको पक्षका उभिने सम्भावना निक्कै कम छ । याे पनि पढ्नुस् :  प्रधानमन्त्रीले किन लिंदैछन् विश्वासको मत ? प्रधानमन्त्रीविरुद्ध कांग्रेस र माओवादी अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा लामो समयदेखि छन् । तर, उनीहरुलाई जसपाले साथ नदिए बहुमत पुग्ने अवस्था कहिल्यै बनेन । यसैले ओली सरकारप्रति असन्तुष्ट भए पनि उनीहरुले अविश्वासको प्रस्ताव अघि बढाउन नसकेका हुन् । आफूले बहुमत गुमाउनु परे अर्को पक्षलाई बहुमत पुर्याउनै नदिने नीतिसमेत प्रधानमन्त्रीले लामो समय लिंदै आएका छन् । संसद विघटन गरी चुनाव रोजेका प्रधानमन्त्रीले फेरि पनि बहुमत नजुटे चुनावतिरै देशलाई अघि बढाउन विकल्पसहित अघि बढ्दा असन्तुष्ट माओवादीले बहुमत नपुग्ने डरले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । तर, ओली भने सके आफैंले बहुमत पुर्याउन नभए अर्को पक्षलाई आफूविरुद बहुमत पुर्याउन कुनै हालतमा नदिने दाउमा रहँदै आएका छन् । विश्वासको मत नै लिने भए पछि अब भने कुनै दल एकातिर बहुमतले निर्णय गर्नुपर्ने अवस्था आएको छ । यस्तोमा जसपा भने सरकारलाई टिकाउन पनि र अर्को सरकार गठनमा पनि निर्णायक देखिएको छ । यसैले उनीहरुले यतिखेर बार्गेनिङ निक्कै बढाएका छन् । तर, जसपा चरम विवादमा छ । यस्तोमा विश्वासको मत लिंदा एकैठाउँमा भोट हाल्न नसके जसपा फुट्नेछ । के गर्लान् माधव नेपाल पक्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगको विवाद उत्कर्षमा पुगेपछि माधव नेपाल पक्षले कर्णाली प्रदेशमा भोट नै क्रस गरेको थियो । अब विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री अघि बढेपछि माधव नेपालका दुई दर्जन बढी सांसदले के गर्छन् भन्ने प्रश्न पनि खडा भएको छ । विश्वासको मत लिने भनेर प्रक्रिया अघि बढाएर ओलीले यसपटक फेरि माधव नेपाल पक्षमाथि नैतिक दबाब भने अघि बढाएका छन् । कर्णालीमा जस्तै भोट क्रस गरेर ओलीविरुद्ध भोट हाले परिस्थिति अर्कैतिर मोडिनेछ । यस अघि नै ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु सर्वोच्च अदालतसम्म पुगेका थिए ।