NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड महामारीको त्रासदी : जहाँ बिरामी बचाउन आफन्तहरू मध्यरातमा अक्सिजन खोसाखोस गर्छन् [भिडियाेसहित]

सुर्खेत । गाडीमा ल्याइएको अक्सिजन अनलोड हुँदा नहुँदै मानिसहरू ठेलमठेल गर्दै अगाड बढ्छन् । उनीहरू ती सिलिण्डर अनलाेड गर्न हाेइन लिएर जान आएका हुन्छन् । मानिसहरूकाे त्यस्ताे हुल अरू काेही हाेइनन् । काेराेनाका सिकिस्त बिरामीका आफन्त हुन् । अनलाेड गरी नसक्दै उनीहरू आफैं आएर अक्सिजनका सिलिण्डर बोकेर हिड्छन् । अझै आफन्तको ज्यान बचाउनकै लागि अक्सिजनका सिलिण्डर नै खोसाखोसमा उनीहरू उत्रिन्छन् । आफन्तकाे ज्यान बचाउने उनीहरूकाे इच्छा अघि खाेसाखाेस ठूलाे कुरा हुँदैन । आफन्त बचाउन अक्सिजनकाे लागि मध्यरातमा उनीहरूले खाेसाखाेस गरेकाे यस्ता यो दृश्य सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालकाे हो । अस्पतालमा कोरोनाले अवस्था कति भयावह बनाउँदैछ भन्ने चित्र यो यो । आफ्ना आफन्तलाई बचाउन अभावका बीच आएका अक्सिजन खोसाखोस गर्नेसम्मको हदसम्म नागरिकहरु बाध्य हुनुपरेको छ । कोरोनाको दोस्रो लहरले जनजीवन आक्रान्त छ । संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । गम्भीर प्रकृतिका बिरामी मात्रै अस्पतालमा भर्ना हुने भएकाले भर्ना भएका प्रायःजसो बिरामीलाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको छ । अक्सिजनकै कमीका कारण संक्रमितहरुको ज्यान गइरहेको छ । जसले गर्दा कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितका आफन्तहरुबीच अक्सिजनका सिलिण्डर पाउन हानथाप हुने गरेको छ । कोरोना संक्रमितहरुको चाप धेरै भएपछि आवश्यकता अनुसारको अक्सिजन आपूर्ति नहुदाँ बिरामीका आफन्तबीच अक्सिजन खोसाखोस हुने गरेको हो ।कर्णाली प्रदेश अस्पतालमा नियमित ३ सय जति अक्सिजन सिलिन्डर हुने हो भने खोसाखोस गर्ने अवस्था नआउने अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । ‘कहिलेकाहीँ सप्लायर्सबाट अक्सिजन सिलिन्डर ल्याउन ढिला भईदिन्छ, यस्तो अवस्थामा गाह्रो हुन्छ,’ डा. पौडेलले भने, ‘शनिवार राति पनि बेलुकाको सिफ्टमा अक्सिजन नआएर खोसाखोस् भएको हो ।’ अक्सिजन नआउँदा आइतबार बिहान अस्पताललाई हम्मेहम्मे परेको थियो । सुर्खेतमा रहेका निजी अस्पतालबाट अक्सिजन सिलिन्डर सापटी ल्याएर गम्भीर बिरामीलाई अक्सिजन दिइएको पौडेलले जानकारी दिए । ओपीडीबाहेक सबै सेवाहरु सञ्चालनमै रहेका छन् । जसका कारण कतिपय कोभिडबाहेकका अरु बिरामीलाई पनि अक्सिजन दिनुपरेको अवस्था भएको अस्पतालले जनाएको छ । कोरोना फोकल पर्सन डा. पौडेलका अनुसार अक्सिजनका लागि नेपालगञ्जको भर पर्नु भएकाले कहिलेकाहीँ समयमा अक्सिजन नआउदा अस्पतालमा समस्या पर्ने गरेको छ । कर्णाली प्रदेश अस्पतालमा नेपालगञ्जको प्लान्टबाट भरेर अक्सिजन ल्याउने गरिएको छ । नेपालगञ्जको प्लान्टबाट अरु पनि अस्पतालहरुले अक्सिजन भर्ने भएकाले ल्याउन पालो कुर्नपुर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट रहेकोमा एउटा पलान्ट संचालनमा आएको छैन भने अर्को प्लान्टबाट दिनमा ७८ वटा सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ । तर प्रदेश अस्पताल सुर्खेतमा दिनमा कम्तिमा २ सय ५० देखि तीन सय सिलिन्डर अक्सिजन आवश्यक हुने अस्पतालले जनाएको छ ।