NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी आज

राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी मनोनयन दर्ताकाे कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनका लागि शुक्रबार बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । मतदान आगामी जेठ ६ गते हुनेछ। त्यसअघि वैशाख २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। एमालेले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गरेकाे छ।