NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जीवनरक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्नु गैरजिम्मेवारीको पराकाष्ठा : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा सरकारले भ्रष्टाचार गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको महामारीको विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोरोना विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने देउवाको माग छ । कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले शुक्रबार विज्ञप्तिमार्फत जिवनदानका लागि आवश्यक औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सभापति देउवाले नेपाली जनताको जीवनरक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचार कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । कोरोना प्रकोपले यति लामो समयसम्म सताए पनि सरकारले यसको नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ । देशमा व्याप्त विषम घडीमा सबैमा स्वास्थ्य मापदण्ड अपनाएर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै उनले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।