NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

के ‘संविधान फाल्ने षड्यन्त्र’ हाे ?

नेपाली कांग्रेससहितका विपक्षी दलहरू संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको, राजीनामा पनि नगरी राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानिक भएको जनाएका छन्। धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया प्रतिनिधिसभा विघटनको प्रक्रिया मात्र पूरा गर्नलाई मात्रै भएको आरोप विपक्षी दलहरूले लगाएका छन्। ‘राष्ट्रपतिले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनुमा षड्यन्त्र देखिन्छ।’ सामान्यतया नयाँ सरकार गठनका लागि तीन दिनको समय दिने प्रचलन रहेको भन्दै पौडेलले थपे, ‘२१ घण्टाको समय दिएर सरकार गठनको आह्वान गर्नु भनेको संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरू केही हुन सक्दैन।’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत पनि नलिने र पदबाट राजीनामा पनि नगरी हतारहतार नयाँ सरकार गठनका लागि सुरु गरिएको प्रक्रिया संविधानको प्रतिकूल रहेको बताए। संविधानअनुसार भन्दा पनि प्रक्रियामात्र पूरा गर्न खोजिएको भन्दै महतले शुक्रबार बिहान पार्टीभित्र छलफल गरेर आगामी रणनीति बनाउने बताए। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिई नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु असंवैधानिक भएको बताए। ‘यो असंवैधानिक हो, प्रधानमन्त्रीले पहिला राजीनामा दिनुपथ्र्यो वा विश्वासको मत लिनुपथ्र्यो,’ श्रेष्ठले भने, ‘संविधानको धारा ७६ (३) अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भए पनि उक्त उपदफा प्रयोग गर्दिनँ भन्न पाउने संविधानले परिकल्पना गरेको देखिंदैन।’ नागरिक दैनिकमा खबर छ।