NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

‘भिआइपी’ का कब्जामा अक्सिजन

नेता, सांसद, मन्त्री, पूर्वमन्त्रीलगायत पहुँचवालाहरुले अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री संकलन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्नु नराम्रो कुरा पक्कै होइन । तर, यसले स्वास्थ्य सामग्री वितरण गर्ने एकीकृत द्धारको अभाव मात्र खुट्याएको छैन, स्वास्थ्य प्रणालीलाई नै डामाडोल बनाई दिएको छ । काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले अस्ति २ जेठमा आफ्नो गृह जिल्ला रोल्पामा ५० थान अक्सिजन सिलिन्डर पठाए । उनले २ सय थान एन्टिजेन टेस्ट किट पनि जिल्ला अस्पताल रोल्पाको लागि पठाएका थिए । कोरोनाको अघिल्लो लहरमा पुन उर्जामन्त्रीको कुर्सीमा थिए । त्यसबेला पनि पुनले व्यक्तिगत पहल र पहुँचमै पीपीइ, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पटक–पटक जिल्ला पठाएका थिए । त्यसको दुई दिन पछि उनै पुनले पहुँचका आधारमा भन्दा प्राथमिकताका आधारमा स्वास्थ्य सामग्री वितरण गरिनुपर्ने बताए । अस्ति ४ जेठ अपराह्न ३.२५ मा सामाजिक सञ्जाल फेसबुकमा पुनले लेखेका छन्, ‘चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग एबम भ्रस्टाचार हो । तुरून्त छानबिन गरियोस् । साथै सरकारले सिलिन्डर कहाँ, कसरी बितरण गरियो? सार्वजनिक गरोस् । प्राथमिकताको निर्धारण गरी बितरण ब्यबस्थागरियोस नकी पहुचका आधारमा ।’ आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउन चाहनेहरुको एउटा हुल अस्ति ३ जेठमा प्रतिनिधि सभाकी समानुपातिक सांसद गंगा चौधरीको बासस्थान शान्तिनगरमा पुग्यो । चौधरी बस्ने घरमा चीनबाट ल्याइएका ५ थान अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भेटिएको प्रचार धुमधडकासाथ गरियो । यसपछि उक्त सामग्री जफत गर्न महानगरिय प्रहरी वृतका डिएसपीसहितको टिम पुग्यो । चौधरीले आफ्नो गृह जिल्ला दाङ पठाउन स्वास्थ्य मन्त्रालयको सिफारिसमा ति अक्सिजन सिलिण्डर ल्याएको कागजात देखाइन । कागजातहरु पढेपछि प्रहरी र सामाजिक अभियान्ताहरु त्यतिकै फर्किए । वनमन्त्री प्रेम आलेले ३ जेठमै आफ्नो निर्वाचन क्षेत्र डोटीका लागि २२ थान अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री पठाए । त्यही दिन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोले पनि २ सय थान अक्सिजन सिलिन्डर आफ्नो निर्वाचन क्षेत्र धनुषा पठाइन् । स्वास्थ्य मन्त्रालयबाट मागेर ती सिलिन्डर धनुषा पठाएको महतो बताउँदै थिईन । यी केही प्रतिनिधि घटनाहरु हुन्, जसले पहुँचवालाहरुले व्यक्तिगत पहल र भनसुनमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नियन्त्रणमा लिएर आफू अनुकूल वितरण गरिरहेका छन् भन्ने पुष्टि गर्छन । यसरी पठाउनेहरुको संख्या ठूलो छ । राजनीतिक नेता/कार्यकर्ता, नेपाली सेना, प्रहरी, कर्मचारीतन्त्रदेखि सर्वसाधारणहरुले समेत आफ्नो पहुँच अनुसार अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री वितरण मात्र गरिरहेका छैनन्, आ–आफ्नो निवासमा जोहो गरिरहेका छन् । यता राजधानीभित्रैका सरकारी अस्पतालहरु वीर, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पतालहरुमा अक्सिजनको हाहाकार ज्यूँकात्यूँ छ । अक्सिजनको अभावमा कोरोना संक्रमितहरुले प्राण त्याग गरिरहेका वा छटपटाईरहेका करुण दृश्यले आङ सिरिङ्ग बनाउने क्रम जारी छ । ‘अक्सिजनको हाहाकार तपाईहरुले थाहा पाइरहनु भएकै छ । अक्सिजनको उत्पादन र मागको सन्तुलन मिल्न सकेको छैन । पहुँचवालाहरुले घर–घरमा राख्नु भएकोले अक्सिजन अपुग भएको हो’, मुलुककै जेठो वीर अस्पतालकी निमित्त निर्देशक डाक्टर शान्ता सापकोटा नेपालवाचसँग भन्छिन्, ‘तपाईहरु सञ्चारकर्मीमार्फत मेरो आग्रह छ, घर–घरमा अक्सिजन राख्नु भएकाहरुले बाहिर ल्याई दिनुहोस्, यसपछि अक्सिजनको हाहाकार हुने छैन् ।’ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले अस्ति २९ बैशाखमा गृहजिल्ला अर्घाखाँचीमा २३ वटा अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पठाए । आफैं कोरोना संक्रमित रायमाझीले व्यक्तिगत पहल र पहुँचकै आधारमा ति स्वास्थ्य सामग्री जिल्ला पठाएका थिए । नेकपा (एमाले) का सचिव एंव पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अस्ति ३ जेठमा आफ्नो गृह जिल्ला गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थमन्त्रालयबाट १ करोड रकम विनियोजन गराए भने आफ्नो निर्वाचन क्षेत्रमा समेत स्वास्थ्य उपकरणहरु पठाए । मन्त्री ज्ञवालीले ४ जेठ अपरान्ह ४.४ मा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थिए, ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड विनियोजन गरिएको छ । अस्पतालमा ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गरिँदै छ । रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध हुँदै छ । यस प्रक्रियामा महत्वपूर्ण सहयोग पुयाउनु हुने माननीय अर्थमन्त्रीज्यू र माननीय स्वास्थ्यमन्त्रीज्यूलाई धन्यवाद !’ नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य, रुकुम पश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्मा पनि आफ्नो निर्वाचन क्षेत्रमा ७९ वटा अक्सिजन सिलिन्डर लिएर पुगे । व्यक्तिगत समन्वयमा र पहलमा शर्माले अक्सिजन सिलिण्डर संकलन गरेर आफ्नो निर्वाचन क्षेत्र पुर्‍याएका थिए । व्यक्तिगत पहलमा अक्सिजन जोहो गरेका शर्माले जिल्ला अस्पताल सल्लेलाई २९ थान, चौरजहारी अस्पताललाई ५० लिटरका ५० थान सिलिन्डर हस्तान्तरण गरेका थिए । कैलाली क्षेत्र नंं. ५ बाट निर्वाचित एमाले सांसद नारदमुनी रानाले पनि व्यक्तिगत पहलमै एक हजार वटा एन ९६ मास्क, एक पेटी सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीहरु त्यहाँको पत्रकार महासंघलाई ‘दान’ दिएका थिए । दाङकी समानुपातिक सांसद एवं एमाले संसदीय दलकी सचेतक एवं शान्ता चौधरीले पनि अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ,मास्क लगायतका स्वास्थ्य सामग्री बोकेर दाङतिर गइन् ।कास्की–१ बाट निर्वाचित सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी पनि यो मेसोमा पछि पर्ने कुरै भएन । उनले पनि व्यक्तिगत पहुँचमै अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर संकलन गरेर आफ्नो निर्वाचन क्षेत्रमा वितरण गरे । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले पनि आफ्नो निर्वाचन क्षेत्रमा व्यक्तिगत पहलमै अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री पठाएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा व्यक्तिगत पहुँचमै आइसोलेसन सेन्टर, अक्सिजनसहितको अस्पताल सञ्चालन गरिरहेका छन् । आफ्नो पहुँचमा आफ्नो निर्वाचन क्षेत्र वा जिल्लामा अक्सिजनलगायत स्वास्थ्य सामग्री पुर्‍याउने कांग्रेस नेताहरुको सूची लामै छ । नेता, सांसद, मन्त्री, पूर्वमन्त्रीलगायत पहुँचवालाहरुले अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री संकलन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्नु नराम्रो कुरा पक्कै होइन । तर, यसले स्वास्थ्य सामग्री वितरण गर्ने एकीकृत द्धारको अभाव मात्र खुट्याएको छैन, स्वास्थ्य प्रणालीलाई नै डामाडोल बनाई दिएको छ । अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने एकीकृत मापदण्ड र कार्यशैलीको अभावमा व्यक्तिगत पहुँच प्रयोग गरेर भिआइपीहरुले कब्जा जमाएका छन् । वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैय्याको कोभिड विशेष अस्पताल बनाउन २५ बैशाखकै मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि अक्सिजनकै अभावमा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । राष्ट्रिय ट्रमा सेन्टरका लागि भनेर छुट्याइएको अक्सिजन प्रहरी अधिकारीहरुले आफूहरुलाई चाहियो भन्दै जर्वजस्ती लगेको तथ्य ३० बैशाखमा त्यहाँका निर्देशक डाक्टर सन्तोष पौडेलले सार्वजनिक गरेका थिए । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जले अक्सिजन आपूर्तीको सम्झौता शंकर ग्याससँग गरेको छ । राष्ट्रिय ट्र मा सेन्टरले पनि अक्सिजन आपूर्तीको सम्झौता शंकर ग्याँससँगै गरेको रहेछ । ति प्रहरी अधिकारीका अनुसार जुन दिन ट्रमा सेन्टरमा लागि छुट्याइएको अक्सिजन फूलीवाला प्रहरीहरुले लगे भनियो, त्यस दिन प्रहरी अस्पतालमा पनि २ सयभन्दा बढी कोरोना संक्रमित उपचाररत थिए । उनीहरुमध्ये प्रायश:लाई अक्सिजन चाहिएको थियो । त्यसैले शंकर ग्यासबाट प्रहरीहरुले आफ्नो अस्पतालका लागि अक्सिजन लगेका थिए । त्यही बेला ट्रमा सेन्टरका प्रतिनिधिहरु पनि अक्सिजन खोज्दै आफूसँग आपूर्ती सम्झौता गरेको शंकर ग्यास पुगे । उसलाई उम्किने बहाना चाहिएको थियो । शंकर ग्यासले ‘तपाईहरुलाई दिन तयार पारेको अक्सिजन सिलिण्डर प्रहरीले कब्जा गर्‍यो भनिदियो । ति प्रहरी अधिकारीका अनुसार यसबेला सर्वसाधारणहरुले समेत आ–आफ्ना घर, कोठामा अक्सिजन लुकाएका छन् । त्यसैले अक्सिजनको अभाव भएको हो । घर–घरमा अक्सिजन खोज्दै हिड्न पनि एकदमै अप्ठ्यारो छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरका अनुसार आफ्नो व्यक्तिगत पहुँच प्रयोग गरेर शिक्षण अस्पतालबाट नेपाली सेनाका केही उच्च अधिकृतहरुले अक्सिजनको सिलिण्डर उठाएका छन् । परिणाम यता अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव बढ्दो छ । उनले व्यक्तिगत पहुँच प्रयोग गरेर अस्पतालबाट अक्सिजनका सिलिण्डर उठाउने सैनिक उच्च अधिकारीको नाम भने उल्लेख गर्न मानेनन् । भन्छन्, ‘घटना हण्डेड पर्सेन्ट सत्य हो ।’ स्वास्थ्य राज्य मन्त्री नवराज रावतका अनुसार कोरोना संक्रमितलाई आइसोलेसन, भेन्टिलेटर, अक्सिजनको व्यवस्थापन गर्न मन्त्रालयभित्र समिति पनि छ । मन्त्रालयले संरचना,नीति, विधि बनाएर त्यसैमार्फत् सबैलाई चलायमान बनाउने प्रयास गरिरहेको छ । तर, कतिपय माफिया र व्यक्तिगत पहुँच प्रयोगकर्ताहरु बेलामौकामा चल्मलाईरहेका रावत बताउँछन् । रावतका शब्दमा गृह सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, उद्योग मन्त्रालयका उपसचिवसहितको एक समूहले भिआइपीदेखि सर्वसाधारणसम्मले आफ्नो कब्जामा राखेका ६ हजार ६ सय ३५ वटा अक्सिजन सिलिन्डर छापा मारेर नियन्त्रणमा लिइएको छ । ‘उहाँहरुले जहाँ नियन्त्रणमा लिनुभएको थियो, मुचुल्का उठाएर त्यहीं छोड्नुभयो । भोलिपल्ट कर्णाली प्रदेशमा पुर्‍याउन भनेर ट्रक पठाएको एउटै सिलिन्डर पनि भेटिएन । नियन्त्रणमा लिएको तथ्यांक गलत पनि थिएन । तर रातभरमा कहाँ गयो त्यो थाहा हुन सकेन’, रावत नेपालवाचसँग भन्छन्, ‘पछि पत्ता लगाउँदा केही माफियाहरुले लगे । भोलिपल्ट गृह मन्त्रालयमा आन्तरिक छलफल चलाएर समस्या समाधान गरियो । कतिपय सिलिन्डर पत्ता लगाई लुम्बिनी र अरु केही प्रदेशमा वितरण भयो । तर, सबै निकाल्न सकिएन ।’ राज्य मन्त्री रावतको यो प्रष्टोक्तिले भिआइपीदेखि सर्वसाधारणसम्मले कसरी अक्सिजन सिलिण्डर कब्जा जमाइरहेका छन् भन्ने भेद खुल्छ । राउतका भनाइमा सरकारी अस्पतालहरुमा बाहिर कोरोना संक्रमितहकरु छटपटाईरहेका छन्, । तर, भीआइपीका लागि भनेर भित्र कोटा छुट्टिएको छ । सरकारी अस्पताल सबैमा यसरी कोटा छुट्याइने रावत बताउँछन् । ‘सरकारी जति सबैमा हुन्छ । प्राइभेटले गरेको छ छैन, मलाई जानकारी छैन’, उनी भन्छन्, ‘ती भीआइपी आउलान कि भनेर उनीहरुका लागि छुट्याइएको कोठा त्यत्तिकै खाली राख्न हुँदैन । नागरिकको जीवन रक्षा गर्न भीआइपी कक्ष पनि प्रयोग गर्नु पर्छ । भीआइपी मात्र मान्छे होइन ।’थप्छन्, ‘अन्तिम अवस्थाका लागि भनेर भीआइपीले सबै ठाउँमा कोठा राखेका छन् । सर्वसाधारणलाई जोगाउन ति कोठमा पनि प्रयोग गर्नुपर्छ । स्वास्थ्यकर्मी, डाक्टरले प्रयोग गर्दा के बिग्रिन्छ ?’ स्वास्थ्य मन्त्री रावतको यो खुलासाले भीआइपीहरुले आफ्नो पहुँच प्रयोग गरेर अक्सिजन सिलिण्डर त कब्जामा लिएका छन् नै, अस्पतालका बेडसमेत कब्जामा राखेका छन् । यसले देश केही सय थान भीआइपीहरुको कब्जामा रहेको प्रमाणित हुन्छ । मुलुकलाई विधि र पद्दतिमा हिडाउन सकिएन भने कोरोनालगायतका महामारीमा भीआइपीहरुले स्रोत, साधन कब्जा गर्दा त्यसको मारमा सर्वसाधारण परिरहनेछन् । पाटन अस्पतालको कोभिड वार्डमा खरिटरहेका एक डाक्टरका शब्दमा अक्सिजन सिलिण्डर ठूलाबडा (भीआइपी) ले मात्र लुकाएका छैनन्, सर्वसाधारणले पनि लुकाएका छन् । हरेक घरमा कोभिडका बिरामी छन्, अक्सिजन भए बाँच्छु भनेर उनीहरुमा परेको भ्रम चिर्न सकिएको छैन । त्यसैले उनीहरुले आ–आफ्नो पहुँचको प्रयोग गरेर अक्सिजन जुगाड गरेका छन् । ‘सरकारको कार्यशैलीले जनताले सरकारलाई भरोसा गर्न सकेनन् । अस्पतालमा गएपछि अक्सिजन पाइन्छ भन्ने परेको भए भीआइपी होस् वा सर्वसाधारण कसैले पनि अक्सिजन आफ्नो कब्जामा राख्ने थिएनन्’, ति डाक्टर भन्छन्, ‘भनसुन नगरी, पहुँच नभइ पाईदैन भन्ने भएपछि सबैले आफ्नो कब्जामा राखे । त्यसैले हाहाकार भइरहेको छ ।’