NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सङ्क्रमित भेट्न जनप्रतिनिधि घरदैलो अभियानमा

घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न घरघरमा पुग्न शुरुआत गरेका छन् । घोराही उपमहानगरपालिका – १४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरा सहित सङ्क्रमितका घरमा पुगी सेवा दिइरहेका छन् । घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा पुनले जानकारी दिए । हालसम्म सो वडामा आठ सङ्क्रमितको मृत्यु भएको छ भने दुई सय ५५ सङ्क्रमित छन् । यसैगरी वडा नं १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा औषधि लिएर सङक्रमितका घरमा पुग्ने गरेका छन् । सङ्क्रमितलाई आइसोलेशनमा रहँदा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहार लगायतका विषयमा सचेत गराइएको छ । उपमहानगरपलिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले उपमहानगर भित्रका १९ वटै वडामा स्वास्थ्यकर्मीलाई खटाइएको बताए । उनले सङ्क्रमितलाई स्वाथ्यकर्मीको नाम, मोवाइल नम्बर उपलब्ध गराउन र मनोबल उच्च बनाउन , जटिलता आएमा जानकारी दिन आग्रह गरे। संस्थागत क्लिनिकका प्रमुख राधा पौडेलको संयोजकत्वमा स्वास्थ्य परामर्श सेवा शुरुआत समेत गरिएको छ । रासस