NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पूर्व सभामुखहरुको निष्कर्ष : ओलीले व्यवस्थानै सिध्याउने गरी संसद् विघटन गरे

काठमाडौं । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर व्यवस्था नै सिध्याउने हर्कत गरेको निष्कर्ष निकालेका छन् । जनताको प्रतिनिधित्व हुने संस्थालाई गैरसंवैधानिक बाटोबाट दुई–दुईपटक सम्म विघटन गरिनु हालको व्यवस्था नै सिध्याउने मनसाय राखेको बताएका छन् । बानेश्वरस्थिति प्रतिनिधिसभाको ल्होत्से हलमा बसेको पूर्व सभामुखहरुको परामर्श बैठकमा सहभागी पूर्व सभामुखहरुले यस्तो निष्कर्ष निकालेका हुने । साथै प्रतिनिधिसभा विघटन अवंवैधानिक भएको पनि निचोड निकालेका छन् । बैठकपछि बोल्दै पूर्व सभामुख तथा कांग्रेस नेता रामचन्द्र पौडेलले जनताको प्रतिनिधित्व हुने संस्थालाई कोल्याप्स पार्न खोज्ने ओलीको कदमविरुद्ध अदालतले सही फैसला गर्ने दावी गरे । ‘ओलीले प्रथामिकता एकतिर छाडेर, आफ्नो राजनीतिक दाउपेजका लागि संवैधानिक संस्थामाथि मनपरी गर्न थाले । मलाई विश्वास छ, अदालतले छिट्टै सही फैसला दिनेछ’, उनले भने । यस्तै, पूर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधि संस्थामाथि आक्रमण भएको बताइन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ घर्ती मगरले भनिन् । बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए ।