NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ओली विरुद्ध प्रतिरोधमा उत्रन माधव नेपालको अपील, नयाँ पार्टीबारे मौन

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रतिरोधमा उत्रन कार्यकर्ताहरुलाई अपील गरेका छन् । मंगलबार साँझ एक अपील जारी गर्दै उनले ओली विरुद्ध प्रतिरोधमा उत्रन आह्वान गरेका हुन् । केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको नेता नेपालको ठहर छ । उनले कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आफूहरुमा आएको बताएका हुन् । उनले पार्टीबाट निष्काशनमा परेपछि नयाँ पार्टी गठन गर्नेबारे भने अपीलमा कुनै सम्बोधन गरेका छैनन् । उनले षड्यन्त्रकारीहरुको उक्सावटमा केपी शर्मा ओलीले पार्टी विभाजन गराएको आरोप लगाएका छन् । ओलीले शुरुमा नेकपा विभाजन गरेर फेरी नेकपा एमालेलाई पनि तहसनहस बनाएको आरोप लगाए । नेता नेपालले जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने ओलीको चाहना पूरा भएको बताएका छन् । ‘जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निष्काशनमा आएर पूरा भएको छ ।’ नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको आरोप लगाएका छन् । उनले केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरेको र त्यसविरुद्ध आवाज उठाउँदा केपी ओलीबाट प्रहार भएको नेता नेपालको गुनासो छ । ‘अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।’ नेपालद्धारा जारी अपीलमा उल्लेख छ । नेता नेपालले प्रधानमन्त्री ओलीकै हेलचक्राईका कारण कोभिड–१९ बाट हजारौंको ज्यान गएको गम्भिर आरोप लगाएका छन् । उनले ओलीले जनताप्रति सबैभन्दा ठूलो अपराध गरेको आरोप लगाएका हुन् । पढ्नुहोस् नेता नेपालको अपील जस्ताको तस्तै कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस्, जनजीविका, जनताका हित, स्वार्थ र सरोकार तथा सुशासन का सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस(नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निष्काशनमा आएर पूरा भएको छ। नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा के।पी। ओलीले आफूलाई स्थापित गरेका छन् । केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग छ । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो। निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु । यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याए । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे । त्यही कारण आम जनता, नेता कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो । मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो । जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए । ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन । आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ । त्यसैले अब हामी माथि कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु।