NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना नियन्त्रणका लागि स्वयंसेवक खटाउँदै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण गर्नका लागि स्वयंसेवक खटाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापन गर्न लागि प्रदेश सरकारले स्वयंसेवक खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सिता नेपालीले जानकारी दिइन् । नेपालीले कर्णालीमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्न लागिएको उनको भनाइ छ । कर्णाली भौगलिक रुपमा दुर्गम छ । स्वास्थ्य सुविधा पनि सबै जिल्लामा आवश्यक्ता अनुसार छैनन् । जसका कारण प्रदेशका दुर्गम जिल्लाबाट संक्रमितलाई उपचारका लागि जिल्ला बाहिर लिनुपर्ने अवस्था छ । कर्णाली प्रदेशमा संक्रमितको समयमा नै उद्धार, उपचार र मृत्युपछि शव व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । संक्रमितहरुको समयमै उद्धार, उपचार र मृत्युपछि शव व्यवस्थापन जस्ता समस्या समाधानका लागि प्रदेश सरकारले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता नेपालीले बताइन् । मन्त्री नेपालीका अनुसार प्रदेश सरकारले स्वयंसेवकका रुपमा काम गर्न इच्छुकहरुलाई सार्वजनिक रुपमा आह्वान गर्नेछ । छनोट भइसकेपछि स्वयंसेवकहरुले गाउँ–गाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापनसम्मका काम गर्नेछन् । ‘संक्रमण गाँउ गाउँसम्म फैलिसकेको छ, अहिले पनि धेरै नागरिक कोरोनाबारे सचेत भएकाम छैनन्,’ उनले भनिन्, ‘स्वयंसेवकहरुले गाउँसम्म पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरु तथा जनचेतना जगाउने काम गर्ने छन् ।’ उनका अनुसार समयमै संक्रमितलाई अस्पतालसम्म ल्याउन, उनीहरुको उपचारमा सहजिकरण गर्न र अक्सिजनको व्यवस्थापनमा पनि स्वयंसेवकले काम गर्नेछन् । स्वयंसेवकले सिधै मुख्यमन्त्री मातहतमा रहेर काम गर्ने सरकारले जनाएको छ । स्वयंसेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेख लगायतका काम गर्नेछन् । प्रदेश सरकारले कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको समयावधि पनि थप गरेको छ । उनीहरुको करार म्याद सकिएका कारण समयावधि असार मसान्तसम्म थप गरिएको हो । यस्तै रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी अभाव भएका कारण तत्काल रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गर्ने तयारी गरिएको सरकारकी प्रवक्ता नेपालीले जनाइन् । सरकारले प्रदेशभित्रै अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्ने उनको भनाइ छ । सुर्खेतमा अक्सिजन रिफिलिङको व्यवस्थानका लागि लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई एक करोड २० लाख र कालिकोटका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।