NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रधानमन्त्री ओलीले भने, ‘संसदीय प्रणालीमा अन्त कतै नभएको उत्पात नेपालमा हुँदैछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरु नै अनुशासनहीन र अराजक भएको टिप्पर्ण गरेका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्बोधन गर्दै ओलीले माधव नेपाललाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमा अन्त कतै नभएको उत्पात नेपालमा भइरहेको दावी गरे । माधवकुमार नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘तीनले खाएको सपथ झुटो हो, तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ ।’ उनले आफ्नै पार्टीको सरकार ढाल्न राष्ट्रपति समक्ष गएर एक जनाले त विरोधमा म आएको छु भन्दै गर्वका साथ भन्नसमेत भ्याएको बताए । ओलीले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ ।’ राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीको भनाइ छ । विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेकोप्रति प्रधानमन्त्रीको गुनासो छ ।