NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

असारदेखि काठमाडौंमा मेलम्चीको पानी बन्द

काठमाडौं । आगामी असारदेखि दुई महिनासम्मका लागि मेलम्चीको पानी बन्द गरिने भएको छ । सुरुङमार्गका परीक्षण कार्यविधि पूरा गर्नका लागि असार १ गतेदेखि सुरुङमा पानी पठाउन बन्द गरिने भएको हो । सुरुङमा पानी पठाउन बन्द गरिने भएसँगै परीक्षण अवधिभर काठमाडौंमा मेलम्चीको पानी नआउने भएको छ । असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । पानी खाली गरिएपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्थाको अध्ययन गर्नेछन् । कुनै समस्या देखिएमा त्यसको मापन गरिने पन्तले जानकारी दिए । खानेपानी वितरण सुरु गर्नुअघि नै परीक्षणको यो काम पूरा गर्नुपर्ने भए पनि त्यसबेला उद्घाटनको हतारोका कारण सारिएको थियो । सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनको अवधिभित्र सुपरीवेक्षणको काम सकिने र त्यसपछि १५ दिन पानी भर्न समय लाग्ने प्रवक्ता पन्तले बताए । मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो । कुनै समस्या देखिएमा भने सुधारका लागि समय लाग्ने छ । जसकारण दुई महिनाजति काठमाडौंमा मेलम्चीको पानी नआउने भएको हो ।