NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माधव समूहका १७ संगठनको चेतावनी, ‘ओलीले सर्त नमाने नयाँ पार्टी घोषणा हुन्छ’

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल समूहका जनसंगठनहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानअनुसार सर्त नमाने नयाँ पार्टी घोषणा हुने चेतावनी दिएका छन् । १७ जनसंगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीलाई फागुन २८ को निर्णय सच्याउन आग्रह गर्दै पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउन आग्रह गरेका छन् । तर, ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीअनुसार नै पार्टीलाई अघि नबढाए नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने चेतावनी पनि दिएका छन् । उनीहरुले निर्वाचित पदाधिकारी बर्खास्त गरेर ओलीले कम्युनिस्ट आन्दोलन नै ध्वस्त पार्न लागेको भन्दै आपत्ति जनाएका छन् । यस्तै पार्टीबाट निष्काशन गरिएका पदाधिकारीमाथिको कारबाही फिर्ता लिन पनि माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं ।’ जनताको लामो संघर्षबाट बनेको पार्टीको गौरवमय इतिहास र आन्दोलनको रक्षाका लागि नयाँ ढंगबाट आफूहरु अघि बढ्न पनि तयार रहेको विज्ञप्तिमा बताइएको छ । अघि भनिएको छ, ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।’