NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्यो

काठमाडौं । एक सातायता निरन्तर घटिरहेको कोरोना भाइरसको संक्रमण पुन: बिहीबार बढेको छ । बुधबारसम्म कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी थियो । तर बिहीबार पुनः निको हुनेको भन्दा एक हजारभन्दा बढी संक्रमित थपिएका छन् । बिहीबार देशभर ६ हजार ८ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितको संख्याभन्दा करिब एक हजारको कमी अर्थात पाँच हजार ९ सय चार जना निको भएका छन् । केही दिनयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दर निकै कम गरेको थियो । साविकमा हुने परीक्षणभन्दा करिब आधाको संख्यामा आरटी–पीसीआर हुँदा संक्रमितको संख्या पनि ह्वात्तै घटेको छ । समग्रमा दुई साताअघिसम्मको दर हेर्ने हो भने बिहीबार भेटिएका संक्रमितको संख्या पनि कम हो । तर, एक साताभित्रको तथयांक हेर्दा बढेको देखिन्छ । बिहीबार देशभरका प्रयोगशालामा २१ हजार जनामा पीसीआर र सातसय ७३ जनामा एन्टीजेन परीक्षण गरिएको छ । तर, बुधबारको तुलनामा मृत्युको संख्या भने बिहीबार कम भएको छ । देशभरमा बिहीबार ७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बुधबार भने एकसय एक जनाको मृत्यु भएको छ । बुधबार देशभरमा १६ हजार आठ सय ७८ जनाको परीक्षण गरिएको थियो । जसमा पाँच हजार तीनसय १६ जना संक्रमित थपिएका थिए । बुधबार संक्रमितको तुलनामा दुई हजारले बढी सात हजार दुईसय १९ जना निको भएका थिए ।करिब दैनिक २३ हजारसम्म परीक्षण हुने गरेकोमा स्वास्थ्य मन्त्रालयले केही दिनयता त्यसको आधाभन्दा पनि कम करिब १० हजारको हाराहारीमा झारेको थियो । जसकारण नेपालमा कोरोना संक्रमितको संख्यामा ह्वात्तै कमी आएको देखिएको हो । केही कमी आए पनि सन्तोजजनक तरिकाले संक्रमितको संख्यामा कमी नआएको स्वास्थ्य विशेषज्ञ बताउँछन् । मन्त्रालयले परीक्षणको दायरा घटाउँदा मात्रै संख्यामा कमी आएको तर, परीक्षण संख्या पहिलेकै अवस्थामा लगिए पुनः साविककै संख्यामा संक्रमित भेटिने जानकार बताउँछन् ।