NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

खोप खरिदका लागि संघीय सरकारसँग प्रदेश १ सरकारद्वारा अनुमति माग

काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति माग गरेको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अघि बढाउने बताइन् । ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुहोस्,’ उनले भनिन् । कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने उनले बताइन् । प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुँदा काम गर्न ढिलो भएको बताइन् । उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने पनि बताइन् । ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं,’ उनले भनिन् । विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन् । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।