NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रदेश २ मा गर्भपतनको डरलाग्दो अवस्था, एकै जनाले गराउँछन् पाँच पटकसम्म

राजकमल सिंह (जनकपुरधाम) । धनुषास्थित मिथिला नगरपालिकाकी ३१ वर्षीया सावित्री (नाम परिवर्तन) ले छोरो पाउने आशमा दुई पटक गर्भपतन गराइन् । विवाह गरेको दोस्रो वर्षमा पहिलो सन्तानको रूपमा उनले छोरीलाई जन्म दिइन् । त्यसको केही वर्ष नबित्दै दोस्रो सन्तानका रूपमा छोरी नै जन्माइन् ।  दुई छोरीको जन्मपछि उनीमाथि छोरा पाउने दबाब घरपरिवारबाटै आउन थाल्यो । दुई सन्तान भइसकेकाले श्रीमान अर्को सन्तान जन्माउने पक्षमा थिएनन् । तर माइती र सासू ससुराबाट छोरा पाउनै पर्ने दबाब उनीमाथि परिरह्यो ।  ‘फेरि गर्भ बस्दा छोरी नै भयो भने ?’ यो भयले सावित्रीको सातो जान्थ्यो । यही डरले उनले जनकपुरधामकै एक निजी चिकित्सकको सल्लाहमा अल्ट्रासाउण्ड गराइन् । अल्ट्रासाउण्डबाट फेरि छोरी नै रहेको पुष्टि भयो । सावित्रिले निर्णय गरिन्, गर्भपतन गराउने ।  चिकित्सकले औषधि सिफारिस गरे । त्यही खाइन् । घरपरिवारको दबाब यथावत् थियो । त्यसलाई थेग्न नसकेर चौथोपटक गर्भवती भइन् । त्यतिबेला सावित्री सिरहाको मिर्चैयामा थिइन् । उनले यसपटक पनि त्यहीँको एक निजि क्लिनिकमा अल्ट्रासाउण्ड गराइन् । फेरि पनि गर्भमा छोरी देखियो । पहिलेजस्तै औषधि सेवन गरिन् र छोरीलाई गर्भमै पतन् गराइदिइन् ।    छोरोको खोजीमा गर्भमा आएकी छोरीलाई संसार नै देख्न नपाई पतन गराउने सावित्री एक्ली व्यक्ति होइनन् । न त छोराको चाहना राख्ने परिवार उनको मात्र हो  छोराको खोजीमा रहेकी सावित्री त्यसको केही समयपछि फेरि गर्भवती भइन् । तर यसपटक भने उनले गर्भपतन गराउनु परेन । किनभने, उनको गर्भमा छोरा नै रहेछ ।  सावित्रीले पुत्रलाभ गरेपछि घरतर्फका सासू–ससुरा मात्र नभएर माइती पक्षमासमेत खुसीयाली छ ।  छोरोको खोजीमा गर्भमा आएकी छोरीलाई संसार नै देख्न नपाई पतन गराउने सावित्री एक्ली व्यक्ति होइनन् । न त छोराको चाहना राख्ने परिवार उनको मात्र हो । महोत्तरीकी पुनमको कथाव्यथा पनि दुरुस्त सावित्रीको जस्तै छ । सावित्रीले छोरा त पाइन् तर पुनम् भने अझै छोराकै प्रतीक्षामा छिन् । छोराको आशमा उनले पाँच पटकसम्म गर्भपतन गराइ सकिन् ।  दुई पटक त अस्पतालमै गएर सुरक्षित गर्भपतन गराए पनि तीन पटक उनले घरमै औषधि प्रयोग गरेर गर्भपतन गरिन् । उमेरले पुनम ४५ वर्ष टेकिसकिन् । यो उमेरमा आउँदासम्म उनले ६ जना छोरीलाई जन्म दिइसकिन् । तर छोरा पाउने आश मरेको छैन । यही आशमा उनले उस्तै गल्ती दोहोर्याइरहेकी छन् ।  पछिल्लो चार पटकको गर्भपतन भ्रुणको पहिचान छोरीको रूपमा हुँदा गराएको उनले सुनाइन् । घरपरिवारको दबाब र बुढेसकालको सहाराका लागि गर्भनिरोधक औषधि प्रयोग नगरेको उनले सुनाइन् ।  पुनमले पहिलो पटक त चिकित्सकको सल्लाहअनुसार नै सुरक्षित गर्भपतन गराइन् । तर, दोेस्रो र तेस्रो पालामा भने चिकित्सककोमा धाइरहन लाज लाग्यो । त्यसैले गर्भपतनको औषधि सेवन गरिन् । आफूलाई औषधि खाने उपयुक्त समयबारे थाहा भएकाले घरमै औषधि सेवन गरेको उनी बताउँछिन् ।  ‘गर्भपतन गर्दा रगतश्राव बढी भए पनि निको भएँ । तर चौथो पटक गर्भ बस्दा औषधिले काम गरेनछ । अत्यधिक रक्तश्राव भयो । अस्पताल जाँदा चिकित्सकले रगत कमी भएको भन्दै भर्ना गरिदिएm’ उनले भनिन् ।  चिकित्सकले उनलाई बच्चा जन्माउने अवस्था नभएको बताइसकेका छन् । छोरा पाउनै पर्ने पारिवारिक र समाजिक दबाबले उनी अझै पनि छोराको खोजीमा छिन् ।  छोराप्रतिको मोहको जालो गाउँघरमा वा अशिक्षित परिवारमा मात्र नभई शिक्षित तथा शहर बजारमा समेत फैलिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ कि उर्मिला (नाम परिवर्तन) उमेरले ४५ वर्ष पुगिन् । तर उनमा पनि छोरा पाउने मोह अझैसम्म टसको मस भएको छैन ।  छोरा पाउने मोहकै कारण उनले तीन छोरी जन्माइ सकिन् । त्यसपछि तीनपटक गर्भपतन गराइन् । उनी कारण फुकाउँछिन्, ‘तीन छोरी पाएपछि पनि छोरा नै सन्तानको रूपमा पाउनुपर्ने दबाब घरपरिवारले दिएका छन् ।’    सोही कारण इच्छा नहुँदा पनि गर्भधारण गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । उर्मिलाले छोरा पाउने आशमा तीन पटक गर्भपतन गराइन् । उनले सातौं पटक गर्भधारण गरेपछि मात्रै छोरा पाइन् । छोरा पाएपछि अहिले उनीसहित पूरै परिवार खुशी छन् ।    गर्भपतनको विकराल रूप पितृसत्तात्मक सोचले कतिपय महिला लिंग पहिचान गराएर इच्छाअनुसार नै गर्भपतन गराउन आउने गरेको जनस्वास्थ्य कार्यालय, जनकपुरमा कार्यरत स्वास्थ्यकर्मी शिवजी दास बताउँछन् । उनका अनुसार, धनुषामा मात्रै मासिक ६०–७० जना गर्भपतन गराउन आउने गरेका छन् । त्यसमध्ये ५० जनाले औषधि खाएर असुरक्षित गर्भपतन गराइसकेका छन् । यसरी औषधि सेवन गरेर गर्भपतन गराउनेमध्ये धेरै समस्या बोकेर सम्पर्कमा आउने गरेको दासको भनाइ छ ।  गर्भपतन गराउनेमा अधिकांश विवाहित छन् । स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डल असुरक्षित गर्भपतन गर्नेको संख्या बढिरहेको बताउँछिन् ।  ‘चिकित्सक अथवा स्वास्थ्यकर्मीको सल्लाहमा  गर्भपतन गराउनुपर्नेमा मनमौजी गर्ने र अप्ठ्यारो परेपछि अस्पताल धाउने धेरै छन्,’ डा. मण्डलले गर्भपतन प्रवृत्तिबारे भनिन् ।  असुरक्षित गर्भपतन रोजेका महिलाहरूमध्ये धेरैमा पाठेघर संक्रमण अथवा भ्रुण राम्ररी बाहिर ननिस्कँदा विरामी मात्र नभई चिकित्सकलाई समेत अप्ठ्यारो हुने गरेको डा. मण्डल बताउँछिन् ।  डा. मण्डलका अनुसार यदि महिलामा इक्टोपिक प्रेग्नेन्सी वा ट्युवल प्रेग्नेन्सी छ भने यस्तो अवस्थामा औषधि खाँदा ट्युव फुट्ने सम्भावना उच्च हुन्छ । उनका अनुसार यस्तो परिस्थितिमा शल्यक्रिया गरिएन भने बिरामीको ज्यान जाने खतरा हुन्छ । तर पनि तराई मधेसतिर असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन ।  सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य ऐन, २०७५ ले लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउने कार्यलाई अपराध माने पनि निजी स्वास्थ्य संस्थाहरू, ‘अल्ट्रासाउण्ड सेन्टर’ तथा निजी क्लिनिकहरूमा यस्ता कार्यहरू गरेको पाइएको छ । तर यसको वास्तविक तथ्यांक भने कसैसँग पनि छैन । सुरक्षित गर्भपतन स्वास्थ्य सेवाहरू सबै जिल्लामा निःशुल्क उपलब्ध छन् तर सेवा लिनलाई स्वास्थ्य संस्थासम्म पुग्नेको प्रतिशत न्यून छ । यकिन तथ्यांक छैन  प्रदेशस्तरको तथ्यांकमा समेत सुरक्षित गर्भपतन गराउनेको संख्या न्यून देखिन्छ । फलस्वरूप पछि पछि उपचार गर्न आउनेको संख्या बढेको पाइन्छ । प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार, आर्थिक वर्ष ०७८/७९ मा दुई हजार छ सय ५० ले गर्भपतन गराएका छन् ।  प्रदेश २ का ८ जिल्लामध्ये गर्भपतन गराउनेहरूको संख्या सर्लाहीमा उच्च छ । सर्लाहीमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सबैभन्दा बढी ७ सय १९ जनाले गर्भपतन गराएका छन् ।  चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सिरहामा ६ सय १५, पर्सामा ५ सय ५०, सप्तरीमा २ सय ६८, रौतहटमा २ सय ३०, धनुषामा २ सय ८, बारामा ५० र सबैभन्दा कम महोत्तरीमा १० जनाले सुरक्षित गर्भपतन गराएका छन् ।  आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ मा ७ हजार १ सय ३४ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । आ.व २०७७/०७८ आउँदासम्म यो संख्या एक हजार २६ ले घटेको पाइयो । उक्त आवमा प्रदेश दुईमा सुरक्षित गर्भपतन गराउनेको संख्या ६ हजार १ सय ५ थियो ।  प्रदेश स्वास्थ्य निर्देशनलायको तथ्यांक अधिकृत सरोज यादवका अनुसार, प्रदेश २ मा सुरक्षित गर्भपतन गराउन आउने २० वर्ष तलका किशोरीहरूको संख्या न्यून छ । उनका अनुसार, प्रदेश २ मा चालु आवको मंसिर मसान्तसम्ममा ९ दशमलव २ प्रतिशत किशोरीहरूले सुरक्षित गर्भपत्न सेवा लिएका छन् । त्यस्तै आव ०७७/७८मा ११ दशमलव ६ र आव ०७६/७७ मा १४ दशमलव ७ प्रतिशत किशोरीहरूले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।     गर्भपतनका कारण समस्या देखिएपछि प्रदेश २ मा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेशभरिमा ५ सय ८१ जनालाई चिकित्सकको निगरानीमा राख्नु परेको तथ्यांक प्रदेशको स्वास्थ्य निर्देशनालयको रहेको छ । त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ६ सय ९५ र आर्थिक वर्ष ०७६/७७ मा ९ सय १७ जनालाई चिकित्सकको निगरानीमा उपचार गरिएको थियो ।  सुरक्षित मातृत्वकै सहभागितामा गर्भपतन  नेपाल सरकारले सञ्चालन गर्दै आइरहेको सुरक्षित मातृत्व कार्यक्रम, धनुषा प्रमुख किरण चौधरी पालिकास्तरमै ६ देखि ९ हप्तासम्मका गर्भवती महिला गर्भपतन गराउन आउने गरेको बताउँछिन् । उनका अनुसार,  गर्भपतनका लागि आउने महिलाहरूलाई निःशुल्क सेवा दिने गरिएको छ । यद्यपि, असुरक्षित गर्भपतनबारे चौधरीले केही भन्न रुचाइनन् । ‘असुरक्षित गर्भपतन हुन त हुन्छन् तर अहिलेसम्म एउटा पनि केस हामीले फेला पार्न सकेका छैनौं,’ उनले भनिन् ।  जनकारहरूका भनाइमा कम गर्भपतन गराउने जिल्लाहरूमा असुरक्षित गर्भपतन गराउनेहरूको संख्या उच्च हुन सक्छ ।   निःशुल्क गर्भपतन सेवा लिनेहरू न्यून  परिवार नियोजन संघ धनुषाको पछिल्लो वर्ष सन् २०२१ को तथ्यांक हेर्दा एक वर्षमा ५ सय २२ जनाले प्रिमेडिकल काउन्सलिंग सेवा लिएका छन् । जसमध्ये ३ सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्, यीमध्ये १ सय ३१ जनाले औषधिसेवन गरेर गर्भपतन गराएका छन् । त्यसमा १५ देखि १९ वर्षका किशोरी २० जना, २० देखि २४ वर्षका ४१ जना, २५ देखि २९ वर्षका ३९ जना र ३० देखि ३४ वर्षका २४ जना रहेको छ भने ३५ देखि ३९ वर्षका महिलाको संख्या सबैभन्दा कम ७ रहेको देखिन्छ ।  यस्तै, २६० जनाले शल्यक्रियाद्वारा गर्भपतन गराएको देखिन्छ । जसमा २५ देखि २९ वर्षका महिलाको संख्या सबैभन्दा बढी ८१ रहेको छ भने १५ देखि १९ वर्ष २५ जना, २० देखि २४ वर्षका ५९ जना, ३० देखि ३४ वर्षका ६९, ३५ देखि ३९ वर्षका २१ र ४० देखि ४४ वर्षका ५ जनाले यो सेवा लिएका छन् ।  जबकि, धनुषाकै निजी क्लिनिकहरूमा महिनामा २२ देखि ३० जनाको हाराहरीमा महिलाहरू गर्भपतन गराउन पुग्ने गरेको देखिन्छ । गर्भपतन गराएका २५ मध्ये १५ जटिल समस्या बोकेर अस्पताल आउने गरेको स्वास्थ्यकर्मी गीता सुरी बताउँछिन् । नेपाल सरकारले सुरक्षित गर्भपतन गर्नलाई ४ वटा औषधिहरू ‘प्रेग्नोट किट’, ‘एम.टी.पी किट’, ‘मिस्टोल’ र ‘मेडाबोन’ लाई मात्र मान्यता दिएको छ । तर गर्भपतन गर्न सयौं प्रकारका औषधिहरू बजारमा छ्यापछ्याप्ती छन् । परिवार नियोजन संघ  धनुषाका अनुसार, परिवार नियोजन संघले शल्यक्रियाद्वारा १ हजार २ सयको गर्भपत गराउँदै आएको छ ।   

ताजा अपडेट

नेपालवाच विशेष