NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

एमालेको नजर माओवादीतिर, समाजवादीको एमालेतिर

काठमाडौँ –आगामी निर्वाचनलाई ध्यान दिँदै एमाले र एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्रता दिएका छन् । दुवैले आन्तरिक कामसँगै पार्टी प्रवेशलाई अभियानकै रूपमा चलाएका छन् । एमाले अध्यक्ष केपी ओली अन्य पार्टीका नेता–कार्यकर्ता प्रवेश गराएर विभाजनबाट पुगेको संगठनात्मक क्षति पूरा गर्ने दाउमा छन् । तीनै तहको चुनावमा एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । सबै जिल्ला र प्रदेशमा पार्टी प्रवेशलाई राजनीतिक जागरणको अभियान बनाउन एमालेले सबै कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष ओली आफैं पनि पार्टी प्रवेश कार्यक्रमका लागि काठमाडौंबाहिरका जिल्ला पुगिरहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आगामी चुनावमा एमालेलाई कमजोर बनाउने गरी संगठन विस्तार गर्ने रणनीति लिएका छन् । कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरणलाई मुख्य सांगठनिक कार्यभार बनाएको एकीकृत समाजवादीले कमिटीहरूको गठन तथा पुनर्गठनको अभियान चलाएको छ । यही अभियानमा उसले एमालेसहित विभिन्न पार्टीका नेता–कार्यकर्तालाई प्रवेश गराइरहेको छ । एमालेभित्रका असन्तुष्टलाई स्वागत गरेर संगठन विस्तार गर्ने नेपालको लक्ष्य छ भने ओलीले सत्तारूढ दल माओवादी केन्द्रमा धेरैभन्दा धेरै विद्रोह गराएर नेता–कार्यकर्ता एमालेमा प्रवेश गराउने रणनीति बनाएका छन् । नेपालको नजर एमालेतिर हुँदा ओलीको नजर माओवादीतिर सोझिएको छ । ‘विभाजनबाट भएको क्षति पूरा गर्नुपर्छ भन्नेमा छौं,’ एमालेका एक पदाधिकारीले भने, ‘यसका लागि मुख्य प्रहार माओवादी केन्द्रमै हुन्छ किनभने माओवादीलाई पनि सबक सिकाउनुपर्नेछ ।’ एमाले विभाजनमा भूमिका खेलेको भन्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालकै पार्टीबाट कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने योजना बनाएका हुन् । यसका लागि पूर्वमाओवादीलाई पद दिन उदार हुने उनको नीति छ । केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा पूर्वमाओवादीलाई उनले सम्मानजनक पद दिएका छन् । बरु ओलीले तत्कालीन १० बुँदे सहमति पक्षधरलाई धेरै महत्त्व दिएका छैनन् । दसौं महाधिवेशन उद्घाटनमै ओलीले दसौं हजार पूर्वलडाकु एमाले प्रवेश गर्ने दाबी गरेका थिए । ‘महाधिवेशनपछि हजारौं पूर्वलडाकु एमालेमा प्रवेश गर्दै छन्,’ उनको दाबी थियो । ओलीले पूर्वमाओवादी समूहबाट दसौं महाधिवेशनमा उपाध्यक्षसहित तीन पदाधिकारी ल्याएका छन् । पूर्वमाओवादीका ३५ जना नेतालाई केन्द्रीय कमिटीमा ल्याएका छन् । एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गरेको बताए । ‘पार्टीमा प्रवेश गर्नेमा बढी माओवादीबाटै हुनुहुन्छ,’ उनले भने, ‘यो र त्यो पार्टीबाट प्रवेश गराउने भन्ने होइन । पार्टीमा धेरैभन्दा धेरै प्रवेश गराउने भन्ने छ ।’ जिल्ला अधिवेशन सकिएपछि माघ, फागुन र चैत महिनालाई पार्टी प्रवेश अभियानका रूपमा मनाउने निर्णय केन्द्रीय समितिबाट भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । ‘अहिले जिल्ला अधिवेशन चलिरहेको हुँदा यो बीचमा कुन–कुन पार्टीबाट नेता–कार्यकर्ता ल्याउन सकिन्छ, त्यसको पहिचान हुन्छ किनभने एमाले फुट्यो, मान्छेहरू बाहिरिए, त्यसकारण एमालेले जित्दैन भन्ने जुन मनोविज्ञान सिर्जना गर्न खोजिएको छ, त्यसलाई ‘काउन्टर’ गर्न पनि विभिन्न पार्टीबाट नेता–कार्यकर्ता प्रवेश गराएर पूर्ति गराउने भन्ने छ,’ उनले भने । पछिल्लो समय पूर्वमाओवादीनिकट भनिएका झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ । अध्यक्ष ओलीले प्रसाईंलाई माओवादीको जनाधार भएका क्षेत्रमा हुने पार्टी प्रवेश कार्यक्रमा सम्बोधनका लागि लैजाने गरेका छन् । प्रसाईंले माओवादीनिकट नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउन भूमिका खेल्दै आएका छन् । पछिल्लो समय उनले धनकुटा जिल्लामा माओवादीका एक मात्र वडाध्यक्षसहित कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए । उनले झापालगायत पूर्वी जिल्लाबाट पनि माओवादीका धेरै कार्यकर्तालाई एमालेमा प्रवेश गराएको दाबी नेताहरूको छ । पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओली नै पुग्ने गरेका छन् । पुस ८ मा उनले माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जलिम मियाँसहित पूर्वमाओवादी समूहको एक पंक्तिलाई एमाले प्रवेश गराएका थिए । पुस २२ मा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमी दोर्जी लामाको नेतृत्वमा हुम्लाका स्थानीय नेतालाई ओलीले बालकोटस्थित निवासमै एमालेमा प्रवेश गराए । माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जलिम मियाँ । ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ, हेर्दै जानुहोला, माओवादीको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ,’ पार्टी प्रवेश गराउँदै त्यस दिन ओलीले भनेका थिए । एमाले प्रचार विभागका अनुसार लामासहित माओवादीको कर्णाली प्रदेश कमिटीका ५ सदस्य, जिल्ला कमिटीका ३७ सदस्य र जनसंगठनका ४ केन्द्रीय सदस्य प्रवेश गरेका छन् । पार्टी प्रवेश अभियानमार्फत प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रूपमा एमालेलाई विकास गर्ने उसको योजना छ । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशन (अपानि) मा पनि ‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलो मात्र होइन, बहुमत प्राप्त पार्टीका रूपमा स्थापित हुने निश्चित छ’ उल्लेख छ । ‘अहिले मिहिन ढंगले पार्टी प्रवेशलाई अगाडि बढाइएको छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘एमालेबाट एकीकृत समाजवादीमा जानेको संख्या कुन जिल्लामा बढी छ, त्यसको हिसाब गर्ने र त्यहाँ माओवादीसहित अन्य पार्टीबाट नयाँ मान्छे भित्र्याएर क्षतिपूर्ति गर्ने भन्ने छ ।’ पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त पार्टी बन्ने ओलीको दाबी छ । राष्ट्रिय राजनीति आफू र पाँच दलीय सत्ता गठबन्धन गरी दुई ध्रुवमा रहेको विश्लेषणसहित एमालेले सत्ता गठबन्धनका गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउने नीति लिएको छ । तीनमहिने पार्टी प्रवेश कार्यक्रममा माओवादीबाहेकका अन्य दलभित्रका असन्तुष्टलाई पनि प्रवेश गराउने एमालेको रणनीति छ । असोज दोस्रो साता विधान महाधिवेशनमा आदिवासी–जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी तथा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य अमर धमलालाई पार्टी प्रवेश गराएका ओलीले पुस ६ मा कपिलवस्तु पुगेर पार्टी प्रवेश अभियान सुरु भएको बताएका थिए । उनले कपिलवस्तुमा जसपा नेता मंगलप्रसाद गुप्तालाई पार्टीमा प्रवेश गराएका थिए । एकीकृत समाजवादीको ध्यान एमाले हराउने एकीकृत समाजवादीका नेताहरूले अनौपचारिक कुराकानीमा आफूहरूको मुख्य लक्ष्य एमालेलाई हराउने रहेको बताउने गरेका छन् । सोहीअनुसार एकीकृत समाजवादीको नजर एमालेमा रहेका असन्तुष्ट नेता–कार्यकर्तामाथि छ । एकीकृत समाजवादीले एमालेका पूर्वकेन्द्रीय सदस्य धर्मराज निरौलाको नेतृत्वमा सुनसरीमा असन्तुष्टरकार्यकर्तालाई प्रवेश गराएको छ । सिन्धुपाल्चोक एमालेका पूर्वसांसद एवं पूर्वपार्टी जिल्ला सचिव सुवास कर्माचार्यको नेतृत्वमा केही कार्यकर्ता, पाल्पामा एमालेका पूर्वसांसद यादवबहादुर रायमाझीको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटीका केही सदस्य पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । केही दिनअघि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका पाल्पा एमालेका पुराना नेता यादवबहादुर रायमाझी । रायमाझी एमालेको दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएका थिए । कात्तिक २४ मा एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशीको नेतृत्वमा केही जिल्ला सदस्यलाई नेपालले पार्टीमा प्रवेश गराएका थिए । त्यसअघि एमाले सुदूरपश्चिमका नेता एवं तत्कालीन केन्द्रीय सदस्य भानुभक्त जोशीलाई पनि नेपालले प्रवेश गराएका थिए । नेपाल पनि पार्टी प्रवेश कार्यक्रममा पुग्ने गरेका छन् । उनले ‘आउँदो चुनावमा ओली गुटको पत्तासाफ हुने’ दाबी गर्दै आएका छन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले अझै ठूलो संख्यामा विभिन्न जिल्लामा एमालेबाट नेता–कार्यकर्ता पार्टीमा आउन लागेको दाबी गरे । ‘स्वाभाविक रूपमा एमालेबाट धेरैभन्दा धेरै नेता–कार्यकर्ता तान्ने योजना छ,’ उनले भने, ‘जसरी हुन्छ पार्टीमा ल्याउने र ठूलो पार्टी बन्ने हाम्रो लक्ष्य हो ।’ वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै पार्टी एकताका आधारहरू निर्माण गर्नु महत्त्वपूर्ण राजनीतिक कार्यभार बनेको उनको भनाइ छ । यही जगमा अन्य दलका नेता–कार्यकर्तालाई प्रवेश गराउने एकीकृत समाजवादीको रणनीति छ । केही दिनअघि नेकपा जनवादी र साध्यबहादुर भण्डारीले नेतृत्व गरेको राष्ट्रिय जागरण अभियान भन्ने समूह एकीकृत समाजवादीमा समाहित भएका थिए । त्यसबाहेक माओवादी केन्द्रका नेता रामचन्द्र झा पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गत कात्तिक १७ मा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले महासचिव भुसालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो । टोलीमा उपमहासचिवद्वय गंगालाल तुलाधर र विजय पौडेल सदस्य छन् । ‘एक वडा दुई सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ नारा दिएर एकीकृत समाजवादीले संगठन विस्तारको अभियान चलाएको छ । याे समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । तस्बिर : कान्तिपुर दैनिक 

ताजा अपडेट

नेपालवाच विशेष