भवन कब्जा गरेर ‘प्रेमिका’ राखेका जर्नेलले खाली गराए क्वार्टर

काठमाडौं । नेपाली सेनाका प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनले स्वयम्भूस्थित नेपाली सेनाको बारुदखानाको क्वार्टर खाली गराएका छन् । सरुवा भइसकेको कार्यालयको क्वार्टर कब्जा गरेर महर्जनले ‘इ’ बाट नाम आउने एक महिला जवानलाई राखेको र त्यहाँ सातामा एक दुई पटक आएर एकाध घण्टा बिताउने गरेको समाचार नेपालवाचले मंगलबार सार्वजनिक गरेको थियो । नेपालवाचले समाचार सार्वजनिक गरेको भोलिपल्ट नेपाली सेनाको हेर्डक्वार्टरले चासो देखाएपछि महर्जनले आफ्ना सामान सारेका हुन् । नेपालवाचको सम्पर्कमा आएको सम्पर्क सूत्रले बुधबार बिहान हेगेन्द्रले केही गाडी पठाएर आफ्नो घरमा सामान लगेको जानकारी दियो । हेगेन्द्रको स्थायी बसोबास ललितपुरको इमाडोलमा छ । ‘नेपालावचमा हेगेन्द्रको बदमासीबारे समाचार सार्वजनिक भएपछि रातारात गाडी पठाएर सामान सारिएको छ,’ स्रोतले भन्यो । क्वार्टर बस्दै आएकी महिला जवानले पनि बुधबार बिहानै क्वार्टर छाडेकी छन् । उनलाई एक सुरक्षा निकायमा कार्यरत श्रीमान् आएर बुधबार बिहान लिएर गएको स्रोतले बतायो । सेनामा एक स्थानबाट अर्को स्थानमा सरुवा भएर जानुपूर्व नै कागजात, क्वार्टरलगायत बुझबुझारथ गर्नुपर्ने प्रावधान छ । सैनिक ऐन, २०६३ मा सरकारी, सार्वजनिक वा सेनाको सम्पत्ति सदुपयोग भए सम्पत्तिसम्बन्धी कसुर लाग्ने किटानसाथ उल्लेख छ । सैनिक ऐन, २०६३ को ४९ (क) मा लेखिएको छ– सरकारी वा सार्वजनिक सम्पत्ति, नेपाली सेनाको मेस, ब्याण्ड वा कुनै सैनिकको वा यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको सम्पत्ति बदनियत राखी निजी काममा उपयोग गरेमा वा हिनामिना गरेमा वा चोरी गरेमा वा बदनियतपूर्वक विश्वासघात गरी कब्जा लिएमा सम्पत्ति सम्बन्धी कसुरमा कारवाही हुनेछ ।’ डेरा खोज्न वा सरुवा भएको स्थानमा ‘सेटलमेन्ट’ हुन समय लाग्ने भएकाले क्वार्टरको हकमा एक/दुई महिना आपसी सहमतिमा सर्ने समय दिने गरिएको छ । तर सहायक रथी महर्जनले त्यहाँबाट सरुवा भएको महिनौंसम्म क्वार्टर नियन्त्रणमा लिएर त्यहाँ महिलालाई राखेका थिए । सेनामा तल्ला दर्जाका कर्मचारीलाई सामान्य घटनामा कारबाही हुने गरे पनि उपल्ला तहकालाई पहुँचका आधारमा उन्मिुक्ति दिने गरिएको छ । सरकारी सम्पत्ति दुरूपयोग गरेर सैनिक आचरणविपरीत काम गरेका महर्जनलाई सैनिक नेतृत्वले कारबाहीको दायरामा ल्याउँला ? प्रतीक्षाको विषय बनेको छ । सम्बन्धित समाचार आर्मी क्वार्टर कब्जा गरेर जर्नेलले राखे ‘प्रेमिका’
प्रतिक्रिया