पृथ्वीनारायणवादी कम्युनिस्टलाई तीन प्रश्न

‘आजको आँखाले तीन सय वर्षअघिको इतिहास मूल्यांकन गर्न मिल्छ ?’ ‘आजको चेतले पृथ्वीनारायण शाहलाई हेर्न मिल्छ ?’ राजावादी, हिन्दूवादी, दक्षिणपन्थी र एकथरी कम्युनिस्टले ठ्याक्कै यही भाषामा समान तर्क गरिरहेका छन् । अचम्मलाग्दो संयोग नेपालमा के छ भने एकथरी कम्युनिस्ट र उग्र दक्षिणपन्थी एउटा होइन लगभग सबै मुद्दामा समान धारणा राख्ने गर्छन् । पृथ्वीनारायणलाई त्यही समयको आँखाले हेरौं भनेर पुरातनपन्थी वा सम्बद्र्धनवादी शक्तिले भन्नु कुनै नौलो तर्क होइन । तर, वामपन्थी, प्रगतिशील र कम्युनिस्टले पृथ्वीनारायण शाहलाई त्यही समयको चेतले हेरौं भन्नुको आशय के हो ? १. तपाईं आफूलाई कम्युनिस्ट भनिराख्नुभएको छ तर इतिहाससम्बन्धी व्याख्या भने तपाईंले पञ्चायतबाट जडौरीमा लिनुभएको छ । राजखलकको बिर्ता पाएका सामन्तका सन्तान, दरबारबाट पालित र पोषित लेखनदास, राजतन्त्रलाई टिकाउन मिसनमा लेखिएका राजतन्त्रकेन्द्रित गाथाहरूले तपाईंको दिमागलाई उपनिवेश बनाएका छन् । तपाईंको दिमागमा सिँचाइचाहिँ सामन्तवादी राजतन्त्रको ज्ञानले गरिरहेको छ अनि चोकमा घोषणाचाहिँ आफूलाई कम्युनिस्ट भनेर गर्नुहुन्छ । यसमा गहिरो असंगति छ कमरेडहरू ! इतिहासलाई हेर्ने वैकल्पिक दृष्टिकोण नै तपाईंसँग छैन । त्यसैले तपाईंलाई लाग्छ, महेन्द्रमाला नै नेपालको आधिकारिक इतिहास हो । महेन्द्रमाला र शाहवंशीय प्रशस्तिगाथा पाठ्यक्रम मार्फत तपाईंको दिमागमा यसरी कोचिएको छ कि, तपाईंको मष्तिकलाई राजगाथाले उपनिवेश बनाइसकेको छ । आफ्नै दिमागको उपनिवेशसँग लड्नु कम्युनिस्ट बन्ने पहिलो पाइला हो कमरेडहरू । राजभक्ति दिमागमा कोचेर त प्रगतिशीलसम्म पनि हुन सकिन्न । त्यसैले तपाईंहरू कम्युनिस्ट नाम बोकेको मण्डले हो, यदि तपाईंलाई पृथ्वीनारायण नै यो राष्ट्रको निर्माता हो भन्ने लाग्छ भने । तपाईंको दिमागमा सिँचाइचाहिँ सामन्तवादी राजतन्त्रको ज्ञानले गरिरहेको छ अनि चोकमा घोषणाचाहिँ आफूलाई कम्युनिस्ट भनेर गर्नुहुन्छ । यसमा गहिरो असंगति छ कमरेडहरू ! २. तपाईंहरू त आफूलाई द्वन्द्वात्मक भौतिकवादले सुसज्जित ‘सचेत’ र ‘वैज्ञानिक’ मान्छे ठान्नुहुन्छ आफूलाई । अनि इतिहासलाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण खै त तपाईंहरूसँग ? निजी स्वामित्वपछिका हरेक युगमा दुई वर्गबीच संघर्ष हुन्छ भन्ने माक्र्सवादी पाठ त तपाईंहरूलाई कन्ठस्तै छ । दुई वर्गबीचको संघर्ष भन्नु दुई विचारबीचको संघर्ष पनि हो क्यारे ! अनि ‘तीनसय वर्ष अगाडि’को इतिहासलाई हेर्ने सवालमा किन तपाईंहरू र राजतन्त्रवादीहरूको दृष्टिकोण एउटै छ त ? एउटा इतिहास त राजतन्त्रले उत्पादन र पुनरुत्पादन गरिरहेकै छ । स्कुल र कलेजमा अहिलेसम्म पनि वितरण गरिरहेकै छ । एउटा वर्गको पक्षधरता राजतन्त्रले लिएको थियो । अर्को वर्ग पनि थियो त्यसबेला । खै, त्यो वर्गको इतिहास ? ज्ञानेन्द्र शाहका पुर्खा ऐश आराम र मोजमस्ती गरिरहेका समय, तरबार उचालेर रगत बगाउँदै एकपछि अर्को राज्य हडप्दै त्यहाँको श्रोत र साधनमाथि रजाइँ गरिरहँदा आजका श्रमिक, श्रमजीवी र उत्पीडितका पुर्खाचाहिँ के गर्दै थिए ? कतै झाडापखालाले, कतै हैजाले, कतै जाडोले, कतै भोकमरीले लडिरहेका थिए होला । कतै बलात्कृत थिए होला । सबै किसिमका शोषण र उत्पीडनलाई त्यही समयको आँखाले हेरौं र ठिक ठहर्याऔं । यही भन्न खोजेको हैन ? अनि यो प्रतिगामी विचार कसरी प्रगतिशील भयो ? महेन्द्रमाला र राजगाथामा तिनको बारे उल्लेख छैन भन्दैमा तिनको इतिहास नै थिएन ? तिनको संघर्ष नै थिएन ? तिनले शाह वंशको तरबारबाट काटिइनुपर्दाको इतिहास खै कहाँ छ ? कहाँ छ इतिहासमा कालु पान्डेलाइ ढाल्ने नेवार योद्धाको नाम ? तपाईंले नखोज्दैमा, तपाईंले नभेट्दैमा तिनको इतिहासै छैन भन्न मिल्छ ? तपाईं कम्युनिस्ट हो भने खै खोजेको श्रमजीवी, शोषित र उत्पीडितको इतिहास ? ३. तीन सय वर्ष अघिको इतिहासलाई त्यही बेलाको आँखाले हेरौं भनेको के हो ? यो ‘स्टेटमेन्ट’को अन्तर्य बहुतै डरलाग्दो छ । त्यसले भन्ला दलितमाथि भएको अत्याचारलाई त्यही बेलाको आँखाले हेरौं । आफ्नो लोग्ने मर्दा सती जान बाध्य महिलामाथिको दमनलाई त्यही समयको आँखाले हेरौं । सबै किसिमका शोषण र उत्पीडनलाई त्यही समयको आँखाले हेरौं र ठिक ठहर्याऔं । यही भन्न खोजेको हैन ? अनि यो प्रतिगामी विचार कसरी प्रगतिशील भयो ? यस्तो किन लाग्छ भने पृथ्वीनारायण र कुनै पनि राजा र महाराजाको दमनविरुद्ध कुनै प्रतिरोधी विचारै थिएन भन्नेमा तपाईंलाई कसैले प्रशिक्षित गरिसकेको थियो । होइन कमरेडहरू, पृथ्वीनारायण र अन्य राजा–महाराजाविरुद्ध उनको विपरीत वर्ग, क्षेत्र र जातिले शसक्त प्रतिरोध गरेका थिए । नेवार लडेको थियो, सुदूरपश्चिम लडेको थियो, राई र लिम्बू पनि लडेका थिए, कुमाउ र गढवाल लडेका थिए । ती संघर्ष पृथ्वीनारायणका उत्तराधिकारीले लुकाउन चाहे होलान् । तिनले मात्रै होइन तपाईंहरूले पनि लुकाउन खोजिरहनु भएको छ । त्यस अर्थमा तपाईं कम्युनिस्ट र प्रगतिशील दुवै होइन । यति याद राखौं कमरेडहरू, मान्छेले आफूमाथिको उत्पीडन र दमन भुल्न सक्दैन, बरु चिहानबाट उधिन्छन् । जुन दिन इतिहासको यो भाष्य स्थापित हुनेछ, तपाईंलाई कम्युनिस्ट र प्रगतिशील भन्ने कुनै हक हुने छैन । हेक्का राखौं !
प्रतिक्रिया