दाजुभाइ नै राजस्व मार्ने उद्यममा, अनुसन्धानमा तानिएपछि फरार

काठमाडौं । दाजु कागजपत्र जुटाएर विभिन्न फार्म खोल्ने । भाइचाहिँ त्यही फार्मको नाममा सामान सप्लाइ गरी अनेक जुक्ति लगाएर राजस्व मार्ने ! यस्तो कार्यमा दाजुभाइ संलग्न भएकाे स–प्रमाण राजस्व अनुसन्धान विभागमा उजुरी परेकाे छ । तर अनुसन्धान प्रक्रिया भर्खर अघि बढेकाले कहिलेदेखि दाजुभाइ भिडे ? खुल्न बाँकी छ । सीताराम अग्रवालका पुत्रद्वय विमल र दीपेन्द्रकुमार राज्यको राजस्व मार्ने कार्यमा संलग्न पाइएका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार, उनीहरूले काठमाडौं महानगरपालिका–१३ र १४ मा एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति लिंक्स नामका दुई फार्म खडा गरेर राजस्व चुहावट गरेको उजुरी परेकाे छ । विभागका अनुसार, थप अनुसन्धानका लागि पत्राचार गरिएकोमा दुवै सम्पर्कमा आएका छैनन् । पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेपछि विभागले आगामी माघ ६ गतेभित्र उपस्थित हुन अन्तिम माैका दिएको छ । उक्त अवधिभित्र पनि सम्पर्कमा नआए राजस्व चुहावट ऐन, २०५२ बमोजिम कारबाही गर्ने विभागको तयारी छ ।
प्रतिक्रिया