NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

निर्वाचन प्रणाली नफेरी नेता सुध्रन्नन् 

केही युवा नेतामाथि नागरिकको भरोसा रहँदै आएको छ । भरोसा गरिएका जब सत्तामा पुग्छन्, आँखा चिम्लिएर भरोसा गरिन्छ । यो अहिलेको समस्या हो । युवावय र उमेर मात्र ख्याल गर्दाको परिणति भन्छु म यसलाई ।  समाजमा परिवर्तन ल्याउन तथा जनतामाझ केही गरेर देखाउन उमेर होइन, सोचचाहिँ युवाको हुनुपर्छ । उमेरमा युवा छ अनि संस्कारचाहिँ पुराना नेताको जस्तो छ भने उसले नयाँपन दिन सक्दैन । मात्र गन्हाउँछ ।  सपना देखिएन भने केही हुँदैन । त्यसैले सबैभन्दा पहिले सपना देख्नुपर्छ । पुराना नेताभन्दा फरक ढंगले साँच्चै केही गर्छु भन्ने सोच जसले राख्छ, त्यो नै युवा हो । भनिरहनु परोइन, जसले युवा जोशमा काम गर्छ, सफल त्यही हुन्छ ।    जनताबाट आश गरिएका नेताहरू यही भ्रष्ट प्रणालीबाटै आउने हुन् । त्यसकारण जरालाई सुधार नगरी हाँगाबिगाँ मात्रै समातेर काम छैन  रह्यो कुरा, आश गरिएका युवा नेताको । पुराना पुस्ताका नेताप्रति अहिले निराशा छ । उनीहरूको कार्यशैलीले जनता आजित छन् । नागरिकले विकल्प खोजिरहेका छन् । युवापुस्ताका नेताले फरक काम गर्ने आश्वासन दिएकाले उनीहरूमाथि नागरिकले आश राखेका छन् ।  यो स्वभाविक छ । यसमा जनताको कुनैै कमजोरी छैन । छ त केवल असल चरित्र नदेखाउने नेताको । उनीहरू जब सत्तामा पुग्छन्, लोभका कारण जानाजान विरक्तलाग्दो चरित्र देखाइहाल्छन् ।  मेरो आशय यो होइन कि आश गरिएका सबै नेताले धोका नै दिए, काम गरेनन् । केहीले सकारात्मक रुझान देखाएका छन् । उदाहरण एमाले नेता गोकर्ण विष्ट हुनसक्छन् ।  सत्ताको चास्नी चाखेलगत्तै आश गरिएका नेता बदनाम हुने गरेका छन् । यसको मुख्य जड अहिलको निर्वाचन प्रणाली हो ।  हाम्रोमा करोडौं खर्च  हुने निर्वाचन प्रणाली छ । चुनावपछि सत्तामा त्यही पुग्न सम्भव हुन्छ, जसले करोड खर्च गर्छ । त्यो रकम घरबाट ल्याउने कुरा भएन । त्यसलाई उठाउने चक्करमा नेता भ्रष्ट भइरहेका छन् ।  दोस्रो कुरा, नेपालको राजनीतिमा अर्को नराम्रो संस्कृति बसेको छ । त्यो हो, आलोचना फिटिक्कै नसहने । प्रशंसा मात्र चाहने । यही कारण कसैले आलोचना गरे उतिखेरै सिध्याउने प्रवृत्ति छ ।  यस्तो समस्याबाट कहिलेसम्म गुज्रने ? पछिल्ला पुस्ताका लागि भए पनि यो अवस्थामा सुधार आउन जरूरी छ । जनताबाट आश गरिएका नेताहरू यही भ्रष्ट प्रणालीबाटै आउने हुन् । त्यसकारण जरालाई सुधार नगरी हाँगाबिगाँ मात्रै समातेर काम छैन ।  यसको सुधारका निम्ति निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक छ । किनभने, समस्याको जरा यही छ । योसँगै अर्को नेताको चाकडी नगरी माथि नपुगिने प्रवृत्तिलाई पनि सुधार गर्नुपर्छ । यस्ता कुराहरुको सुधार नगरी मूल फोहोर राखेर सफा पानी खोजेजस्तो हुन्छ ।   

ताजा अपडेट

नेपालवाच विशेष