NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अन्ततः रोनाल्डोले प्रशिक्षक र आफ्नो मनमुटाबबारे मुख खोले

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा सन्तुष्ट नभएको बताइएको छ । इंग्लिस महारथी युनाइटेड जारी इंग्लिस प्रिमियर लिगको सातौं स्थानमा छ । आधाभन्दा बढी खेल सकिइँदा युनाइटेडजस्तो ठूलो टोली सातौं स्थानमा मात्र रहनु पक्कै पनि राम्रो नतिजा होइन । यसै विषयलाई लिएर मुख्य प्रशिक्षक तथा व्यवस्थापक राल्फ राङनिक र रोनाल्डो दुवै बेखुसी छन् । खेल रणनीतिलाई लिएर यी दुईबीच मनमुटाव भएको बताइन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो विषयलाई प्राथमिकतामा राखेर खबर छापिरहेका छन् । तर, प्रशिक्षक राङनिक र रोनाल्डो कसैले पनि यस विषयमा बोलेका थिएनन् ।  हाल आएर रोनाल्डोले भने पहिलोपटक मुख खोलेका छन् । स्काइ स्पोर्टससँगको कुराकानीमा रोनाल्डोले यसबारेमा बोलेका हुन् ।  रोनाल्डोले राङनिकको आलोचना गर्नुको सट्टा बरु बचाउ नै गरेका छन् । ‘राङनिक आएको भर्खर केही साता भएको छ । उनी क्लबमा सुधार गर्न नै आएका हुन् । त्यसका लागि समय चाहिन्छ । परिवर्तन गर्ने काम सजिलो पनि हुन्न’, रोनाल्डाले भने, ‘उनले क्लबमा केही परिवर्तन पनि गरेका छन् । उनले आफ्नो धारणा खेलाडीसामु राखेका पनि छन् ।’ जर्मन प्रशिक्षक राङनिकले राम्रो गरिहेको रोनाल्डोको भनाइ छ । र, अहिले झगडा गर्ने बेला नभएको उनले स्पष्ट पारेका छन् । ‘मेरो विचारमा अहिले राङनिकले राम्रै काम गरिरहेका छन् । हामी सबै एउटै डुंगामा छौं, त्यसैले एकअर्काविरुद्ध झगडा गरेर केही काम छैन । हामीलाई मिल्नु नै पर्छ । यो सिजन अझ राम्रो हुनेमा मलाई विश्वास पनि छ । किनकि, हामीसँग समय छ ।’ गत नोभेम्बरमा ओले गन सोल्सार वर्खास्त भएपछि राङनिकले टोली सम्हालेका थिए । तर उनी आएपछि पनि युनाइटेडको प्रदर्शनमा उल्लेख्य सुधार आएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष