धादिङ पहिरो : बेपत्ता अझै भेटिएनन्, पहिचान भने भयो

काठमाडौं । धादिङको रुवी भ्याली गाउँपालिका १ मा गएको पहिरोमा परेर बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् । यद्यपि, उनीहरूको पहिचान भने भएको धादिङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । चालक र सहचालक काभ्रेका रहेका छन् । बेपत्ताको खोजी कार्य सुरु भएको तर हालसम्म फेला नपरेको डिएसपी भण्डारीले नेपालवाचलाई जानकारी दिए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएर अहिले उद्धार कार्य सुरु गरेको छ । तर, लामो पहिरो र ठूलो खोल्सो रहेकाले बेपत्तालाई भटिएका छैनन्’, उनले भने, ‘बेपत्ताको अवस्थाबारे हालसम्म अनुमान गर्न सकिने अवस्था छैन ।’ रुवी भ्यालीमा बाटो खन्ने क्रममा पहिरो खस्दा आज बिहान ७ बजेतिर डोजरसहित तीनजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर १ स्थित पुरबाट लिङचोसम्म जाने बाटो खन्ने क्रममा पहिरो खसेको हो । घटनास्थल सदरमुकाम धादिङबेसीबाट करिब ८५ किलोमिटर टाढा छ ।
प्रतिक्रिया