६० जिल्लाको अध्यक्ष चयन हुँदा पूर्वमाओवादी समूहबाट एक जना विजयी

काठमाडौं । नेकपा एमालेको देशभर जारी जिल्ला अधिवेशनबाट अहिलेसम्म ६३ जिल्लामध्ये ६० भौगोलिक र दुई गैर भौगोलिक जिल्ला अध्यक्षहरूको अन्तिम मत परिणाम आइसकेको छ । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही जिल्लामा विवादका कारण निर्वाचन प्रकृयाबाट नेतृत्व चयन भएको हो । ६० जिल्लाको अन्तिम मतपरिणाम अनुसार पूर्वमाओवादी समूहका एकजना मात्र अध्यक्षमा निर्वाचित भएका छन् । पूर्वमाओवादी समूहबाट निर्वाचित हुनेमा सूर्यप्रसाद गैरे(पारस) हुन् । पुस २७ सम्पन्न स्याङ्जा अधिवेशनबाट गैर अध्यक्षमा निर्वाचित भएका थिए । उनले प्रतिनिधिसभा सदस्यसमेत रहेका नारायणप्रसाद मरासैनीलाई १८३ मत अन्तरले पराजित गरेका हुन् । गैरेले ४४० मत ल्याउँदा निकटतम प्रतिद्वन्दी मरासैनीले २५७ मत ल्याएका थिए । उनी उपाध्यक्ष रामबहादुर थापा निकट व्यक्ति हुन् । स्याङ्जाबाहेक सबै जिल्लामा पूर्वमाओवादी समूह नील रहेका छन् । बाँकी ५९ जिल्लामध्ये दुई जिल्लामा पूर्वमाधव समूह र बाँकी सबै जिल्लामा पार्टी संस्थापन पक्ष चयन भएका छन् । पूर्वमाओवादी समूहबाट एमालेमा रहेका नेता एवं एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले स्याङ्जाबाहेक एकता प्रकृयाबाट आएका समूहले छनोट हुन नसकेको स्वीकार गरे । ‘पूर्वमाओवादी समूहबाट कति जना जिल्ला नेतृत्वमा आएको छ भन्नेमा हामीले अहिले कुनै हिसाब–किताब गरेका छैनौं’, न्यौपानेले भने, ‘अहिलेसम्म स्याङ्जामा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसबाहेक धेरै जिल्लामा पदाधिकारी र सदस्यहरूमा समेटिएका छन् ।’ यस्तो परिणाम आउनुमा आफ्नै कमजोरी भएको न्यौपानेले प्रतिक्रिया दिएका छन् । ‘कतिपय साथीहरूले अध्यक्षमा उठ्न इच्छै देखाउनुभएन । हामीले जबर्जस्ती उठ भन्ने कुरा पनि भएन । जिल्ला नेतृत्वमा आउन नसकेका कतिपय गाउँ वा नगरपालिकाको नेतृत्वमा समेटिएका छन्’, उनले भने । अहिलेसम्मको परिणाम अनुसार पूर्वमाधव समूहबाट दुई जना जिल्ला अध्यक्ष बनेका छन् । बाँकी सबै जिल्लामा संस्थापनपक्षबाट अध्यक्षमा छनोट भएका छन् । पूर्वमाधव समूहबाट भोजपुरमा शरणकुमार राई सर्वसम्मत अध्यक्ष बनेका छन् । त्यस्तै बाग्लुङमा हिरा केसी निर्वाचन प्रकृयाबाट अध्यक्ष बनेका छन् । केसीले ३२९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कृष्ण पाठकले २२८ मत ल्याइ पराजित भएका थिए । पूर्वमाधव समूहको पक्कट क्षेत्र रहेको बाग्लुङमा केसी प्रभावशाली युवा नेतामा चिनिन्छन् । एमाले वाग्मतीको चितवन र सिन्धुपाल्चोकमा विवादका कारण बन्दसत्र अगाडि बढ्न सकेको छैन । गण्डकीको मनाङ र मुस्ताङमा हिमपातका कारण अधिवेशन स्थगित रहेको छ । कर्णालीको दैलेखमा फर्जी मतको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस्तै प्रदेश २ मा सिराह र सप्तरी बाहेक अन्य जिल्लामा इन्चार्ज रघुवीर महासेठ र सह-इन्चार्ज प्रभु साहबीचको रस्साकस्सीले अधिवेशन प्रभावित भएको छ । केही जिल्लामा मतपरिणा आउनेक्रम जारी छ ।
प्रतिक्रिया