अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

काठमाडौं । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा बढ्दै गएर गत मंसिरमा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४.६ प्रतिशत हो । आर्थिक वर्ष २०३९/४० मा शोधनान्तर घाटा जीडीपीको २ प्रतिशत र आर्थिक वर्ष २०७५–७६ मा २.३५ प्रतिशत थियो । अर्थतन्त्रका जानकारका अनुसार शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । त्यसैले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिलाई बृहत् रूपमा निगरानीमा राख्नुपर्ने समय आएको उनीहरूको भनाइ छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा शोधनान्तर स्थिति सवा १ अर्ब रुपैयाँ बचतमा थियो । त्यसपछिका सबै महिना घाटामा छ र हरेक महिनामा घाटा उच्च दरले बढिरहेको छ । यसअनुसार गत साउनमा ३८ अर्ब ७४ करोड, भदौमा ८३ अर्ब ४० करोड, असोजमा ७६ अर्ब १३ करोड र कात्तिकमा १ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ घाटामा थियो । ‘यो गम्भीर अवस्था हो,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बढ्दो शोधनान्तर घाटा नियन्त्रणका लागि यथाशीघ्र पहल नगरे अर्थतन्त्र टाट पल्टिन सक्छ ।’ अपेक्षित रूपमा निर्यात बढ्न नसक्दा र आयात तीव्र दरले बढ्दा अहिलेको अवस्था आएको उनले बताए । ‘अब निश्चित समयका लागि विलासिताका वस्तुको आयात रोक्न पनि सकिन्छ,’ उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले शोधनान्तर स्थिति व्यवस्थापन नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए । पछिल्ला केही महिनामा निरन्तरजसो अर्थतन्त्रका सबै क्षेत्रमा एकै पटक समस्या देखिँदै आएको उनले जनाए । ‘एकै पटक सबै सूचक धेरै ऋणात्मक भएको सम्भवतः यो पहिलो पटक हो,’ उनले भने, ‘समस्या समाधानका लागि नीति निर्माता थप जिम्मेवार भएर लाग्नुपर्यो ।’ विद्यमान अवस्थामा सुधार ल्याउन अर्थ मन्त्रालय र राष्ट्र बैंकले केही नीतिगत प्रयास गरेकाले बिस्तारै तिनको प्रभाव देखिनेमा श्रेष्ठ विश्वस्त छन् । तर अहिलेको समस्या जटिल रहेकाले हालसम्मको प्रयास पर्याप्त छैन,’ उनले थपे, ‘ठूलो समस्या शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र तरलता समस्या समाधान गर्नु हो ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया