गृह मन्त्री बालकृष्ण खाणको सम्पत्ति : अर्बौंको घरजग्गा तर सम्पत्तिको स्रोतमा प्रश्न

काठमाडौं । गृह मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण अर्बौं सम्पत्तिको मालिक रहेको खुलेको छ । यो तथ्य उनी आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले देखाएको हो । सम्पत्ति विवरणमा मन्त्री खाणले जग्गा–जमिनसँगै सुन, चाँदी, शेयर, बैंक खातामा रहेको बचतलगायत विवरण उल्लेख गरेका छन् । त्यसमध्ये घर र घडेरी मात्र एक अर्ब रूपैयाँ बराबर छ । पूरै जीवन राजनीतिमा बिताएका खाणले अर्बौं रूपैयाँ बराबरको सम्पत्ति विवरण उल्लेख गरे पनि स्रोत खुलाएका छैनन् । यी सम्पत्ति ससुरालीबाट वकसबापत प्राप्त भएको उनको दाबी छ । सम्पत्ति विवरणमा खाणले आफू, श्रीमती मञ्जु र बुवा–आमाको नाममा काठमाडौं, ललितपुर, रूपन्देही, चितवन, धनुषामा गरी एक अर्बभन्दा बढी मूल्य बराबरको घर–घडेरी रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणअनुसार खाणसँग काठमाडौं र ललितपुरमा मात्र ३ रोपनीभन्दा बढी घडेरी छ । काठमाडौं र ललितपुरमा रहेको सबै घर–घडेरी मन्त्री खाणको श्रीमती मञ्जुको नाममा छ । ती सबै घर–घडेरी प्राप्किो स्रोतचाहिँ श्रीमती मञ्जुले बुवाबाट वकसबापत प्राप्त गरेको उल्लेख छ । सम्पत्ति विवरणअनुसार मञ्जुको नाममा काठमाडौं महानगरपालिका–३५ मा मात्र १७ आना जग्गा छ । काठमाडौं र ललितपुरमा रहेको जग्गाको सम्पत्तिको मालिक श्रीमती मञ्जु मात्र छिन् । मन्त्री खाणको आफ्नै नाममा काठमाडौंमा जग्गा–जमिन छैन । त्यस्तै, ललितपुरको भैंसेपाटीमा उनको परिवारको एक रोपनी १२ आना जग्गा छ । यो जग्गा पनि श्रीमती मञ्जुकै नाममा छ । यो सबै जग्गा श्रीमती मञ्जुले बुवाबाट वकसवापत पाएको उल्लेख छ । यस्तै, काठमाडौं महानगरपालिका–३५ मा अर्को थप ४ आना २ पैसामा क्षेत्रफलमा एउटा घर पनि छ । त्योचाहिँ घरजग्गा खरिद–बिक्रीबाट प्राप्त आम्दानीबाट खरिद गरेको उल्लेख छ । यसबाहेक खाणसँग बुटवलमा एक कठ्ठा क्षेत्रफलमा फैलिएको एकतले घर, बुटवलकै मैत्रीपथमा साढे दुई तले घर छन् । रूपन्देहीको साविक करहिया गाविसमा ५ कठ्ठा जग्गा र दुई तल्लाको घर छ । रूपन्देहीका अन्य विभिन्न स्थानमा गरेर खाणसँग करिब चार बिगाहा जग्गा देखिएको छ । सुनचाँदी सय तोला अथाह घर घडेरी जोडेका मन्त्री खाणसँग सुनचाँदी एक सय तोला छ । उनीसँग सुन ४० तोला र ६० तोला चाँदी रहेको सम्पत्ति विवरणमा देख्न सकिन्छ ।
प्रतिक्रिया