NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सांस्कृतिक विविधताको इन्द्रेणी माघ १ : तराईमा माघी, नुवाकोटमा गोरुजात्रा

  काठमाडौं । आज माघ १ गते । दिन एउटै भए पनि फरक समुदायले फरक तरिकाले आजको दिन मनाउँदैछन् । अर्थात् सांस्कृतिक विविधताको इन्द्रेणी आज देख्न सकिन्छ ।  आज एकै दिन तराईका थारु समुदायमा माघी, तराईमा नुहान तथा पहाडमा मकर संक्रान्ति मनाइँदैछ ।   प्रत्येक  वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।  तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।    र्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन्।  उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।    माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।  थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् ।   सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।   बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।   तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।   गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।   विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।   सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । विसं २०७२ देखि भने माघ १ गतेलाई थारू समुदायले अझ बृहत्रूपमा मनाउन थालेका छन् । यता, राजधानी नजिकैको नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउने अनौठो परम्परा छ । नुवाकोटको तारुकामा फरक ढंगले वर्षौंदेखि माघेसंक्रान्ति पर्व मनाउने गरिएको छ । यस वर्ष पनि कोभिड–१९ महामारीका कारण यो पर्व मनाउन रोक लगाइएको छ र