NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रेम अछुत हुन्छ ?

–अछुत कोपिला अछुत केटी, बाहुन केटो ! अलि अशोभनीय शब्द चयन गरेँ कि । माफ गर्नुहोस्, सुन्दा तितो तर सत्य शब्द हुन् । विभेदकारी नेपाली समाजका बिम्ब पनि । केवल शब्द मात्रै पनि होइनन्, अछुत केटी, र बाहुन केटो !  केटी र केटो, यी विपरीत लिंगलाई प्रतिनिधित्व गर्ने शब्द हुन्, तर यहाँ जात व्यवस्थाका प्रतिनिधि छन्, दुवैजना । अछुत र बाहुनले जात जनाउँछन् ।  नेपाली बृहत् शब्दकोशमा दलितको अर्थ  पछि पारिएको, दलिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको, विध्वंस गरिएको र नष्ट गरिएको छ । विकिपिडियाका अनुसार छुवाछुत भनेको जात, धर्म, पेशा, क्षेत्र, लिंग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो ।  शब्दकोश मै बाहुनको अर्थ आर्यहरूका चार वर्णमध्ये एक; ब्राह्मण उल्लेख छ । जसरी ‘बाहुन’ कुनै जात जनाउने शब्द हो, त्यसैगरी ‘दलित’ त्यस्तो होइन । यो त अवस्था अभिव्यक्त गर्ने शब्द हो । शोषित, पीडित भनिएजस्तै हो अछुत शब्द पनि ।  यो ब्लगमार्फत् म जात व्यवस्थाले कथित उच्च जाती र दलितबीचको प्रेम सम्बन्धमाथि समाजको विभेदकारी दृष्टिकोण, सोच र व्यवहारबारे केही दृष्टान्तहरू पस्किदै छु ।  राती १२ बजे । सुत्ने तरखरमा छुँ । सिरानीमा मोबाइल राख्नै लाग्दा म्यासेज आयो । परिचित व्यक्तिकै थियो ।  ‘किन धेरै निष्ठुरी बन्नु भो यार !’ उनको प्रारम्भको म्यासेज थियो त्यो । मैले जवाफ फर्काएँ– ‘ओ माई गड ! छैन यार बन्धू ।’ कुनै भूमिका नबाँधेरै उनले फेरि लेखे– ‘मलाई (विके) खोजीदिनु बिहे गर्नलाई ।’ टेक्स्टसँगै उनले नमस्कार गरेको र रोएको इमोजी पठाए । लौ ! एक्कासी के भयो यिनलाई ? यसपटकको म्यासेजले मलाई भाउन्न बनायो एकछिन् । अच्चमित मात्रै होइन आश्चर्य चकिन नै भएँ म । यति सानो कुरामा किन अच्चमित भएको होला भन्नूहोला । जीवनमा पहिलोपटक कथित दलित समुदायकी केटी विवाह गर्नको लागि अफर गर्दै थियो, एक क्रान्तिकारी बाहुन केटो ! उनको दोस्रो म्यासेजले स्वयम् मेरो विगत मात्रै सम्झाएन, कथित गैरदलित युवतीसँग प्रेम गर्दा घटेका÷घटाइएका क्रुर अमावनीय नरसंहारहरू सम्झायो ।  अँध्यारो कोठामा मोबाइलको कृत्रिम उज्यालोको सहायताले च्याट गरिरहेको मेरो मन संसार घुम्न निस्कियो मध्यरातमा । मेरो मानसपटलमा जातीय नरसंहारमा मारिएका नवराज विकहरू, अन्तरजातीय विवाह गरेका अजित मिजारदेखि सेते दमाइसम्मका घटना श्यामश्वेत तस्बीर झैं घुमे । अर्को नवराजको सपना देखिररहेको थिएँ म । लाग्यो किन अर्को अजित बन्न खोजिरहेका छन् उनी । उनीसँग मेरो ‘रुपा सुनार प्रकरण’मा कोहलपुरमा  विरोध कार्यक्रम गर्दा औपचारिक भेट भएको थियो । त्यसपछि छिटफुट भेटघाट भइरहन्छ ।  उक्त दिन  दिउँसो एक साहित्यिक कार्यक्रममा भेट भएको थियो । सामान्य कुराकानी भयो । उनी विचारले माओवादी हुन् । सामाजिक सञ्जालमा  पनि सक्रिय उनको एक स्ट्याटसका बारेमा प्रश्न गरें । मेरो प्रश्न थियो, ‘कन्हैया कुमारलाई प्रोफाइलबाट किन हटाउनु भयो यार बन्धू ?’ उनको उत्तर र स्ट्याटस मिल्दोजुल्दो थियो,  डा. कन्हैया कुमार कुरा भारतको कम्युनिस्ट आन्दोलनको मात्र होइन । बेगुसरायमा कनैया कुमार चुनाव लड्दै गर्दा नेपाली कम्युनिस्ट विद्यार्थी पनि बेगुसरायमै पुगेका थिए । नयाँ कम्युनिस्ट युवा मात्र होइन हरेक विचार बोकेका युवाले  तपाइँलाई  आइडल मान्न थालिसकेका थिए ।’ अपसोच विचारमा सम्झौता गर्नु भयो । बाँकी राजनीतिक जीवनको शुभकामना कभर फोटोपनि आजै डिलेट गरे ।  कार्यक्रम सकियो ।  बिदावारी गरेर म अफिस आए । … उनी अर्को दिन, च्याट गर्छन्, हिजो अलि बढी नै बोलियो की ? अन्यथा नलिनु होला है सर ।  मैले ‘इट्स ओके’ भन्दै रिप्लाइ दिएँ ।  च्याट मै उनले त्यो दिन आफूले मन पराउने केटीको नाम पनि बताए ।  विश्वकर्मा थरकी हुन् ।  उनको र मेरो पेशा एउटै हो ।  बेलाबेलामा कार्यक्रमहरूमा भेट भइरहन्छ ।  सामान्य बोलचाल  हुन्छ । यता, केटासँग मेरो निरन्तर कुरा भइरहयो । उता, केटीसँग खासै भेट नहुने । केटा उनको प्रेममा पागलै छन् । जसरी पनि विवाह गर्न चाहन्छन् । तर उनीहरूको अवरोध बनिरहेको छ, जात ।  झन ठूलो पर्खाल भनिरहेकी छन्, केटाकी आमा । सुदूर पश्चिमको गाउँ ।  त्यहाँको परम्परागत समाज । जात व्यवस्थाभित्रै जन्मे हुर्के पनि बाहुनी बज्यैको छोराले आफ्नै जातको केटीसँग विवाह गरोस् भन्ने चाहना छ । उता, छोरा अछुत केटीको मायामा ‘फिदा’ छन् ।  निकै ठूलो विरोधाभासमा मायाको संसारमा सयर गरिरहेका छन्, उनी । एकातिर आमा, अर्कातिर माया । दुवै कुरा चाहन्छन् उनी । न आमा त्याग्न सकिरहेका छन् न केटी नै । केहीबेरको संवादपछि मैले भनें, ‘हुन्छ कुरा गर्दै गरौंला मित्र, रात छिप्पिसक्यो, बाई गुड नाइट । सुतिरहेको इमोजी पठाएर हाम्रो च्याट वार्ता सकिन्छ ।  करिब २ महिनापछि म रिर्पोटिङमा गएको बेला उनीसँग अकस्मात कुरा भयो ।  पुस १५ गते ।  रातको समयमा आगो ताप्ने कोइलाको धुँवाले निस्सासिएर भेरी अस्पतालमा चार जनाको मृत्युभयो । तीन जना घाइते भए ।  कोहलपुरबाट १५ किलोमिटर यात्रा गरेर नेपालगन्ज पुगेको थिएँ म । घटनाबारे स्थलगत रिर्पोटिङ गर्नुपर्ने थियो ।  उनी उक्त घटनासँग जोडिएका रहेछन् ।  उक्त घटनामा बाँच्न सफल युवती उनी बहिनी (मामाकी छोरी ) रहिछिन् । भेरी अस्पतालको इमरजेन्सी वार्डको मुल गेटमै भेट भयो । बिरामीको लागि तातोपानी लिन बाहिर निस्केका रहेछन् । बाहिर आएर पानी लियौँ । दुवै जना निस्कियांै बजारमा । अस्पतालभन्दा एक सय मिटर परको दुरीमा अवस्थित एउटा चिया पसलमा बस्यौँ । उनले मःम खाए । मैले एक गिलास ‘कालो चिया’ लिएँ ।   हामी करिब एक घण्टा गफिएछौं ।  कुराको सुरुमै उनी उदास जस्तो देखिए । विद्या कसम ! उनले आफ्नो जातलाई धिकारे ।  भने– ‘यार, म बाहुन भएर किन जन्मिएँ ? उनले दलितको कोखबाट किन जन्म लिइन् ।  यो सब वाइयात हो । तर यो अन्धो समाज किन बुझ्दैन । हामीलाई एक हुन नदिने समाजसँग जति गरे पनि सकिनँ ।’ यो भेटमा उनले आफूहरूको भेटको विषयमा पनि जानकारी गराए ।  उनीहरूले फोनमा कुराकानी गर्न थालेको एक वर्ष भयो । उनीहरू रातको समयमा मात्रै घण्टौँ गफिन्छन्, प्रेमी र प्रेमिकाको रुपमा । दुवै जनाको फोन हुन लागेको एक हप्तासम्म दैनिक कुराकानी भयो, पछि सातामा एकदिन, १५ दिनको एकचोटी । अहिले महिनाको एकपटक मात्रै कुराकानी हुन्छ । अचम्म त के छ भने उनीहरू एकपटक पनि औपचारिक रुपमा भेटेका छैनन् ।  उनीहरूबीच धेरै पटक विवाहको विषयमा समझदारी भएको छ । तर अन्तिममा केटाकी आमा र समाज उनीहरूका लागि बाधक बनिरहेको छ । उनीहरूलाई थाहा छैन, उनीहरूको स्वच्छ मायाले प्रेमी प्रेमिकाबाट श्रीमान्–श्रीमतीको सम्बन्ध बन्छ की बन्दैन ।  बीचैमा छुट्टिने पो हो की !  उनीहरूको मायाको फूल अहिलेसम्म निर्धक्क फक्रिन पाएको छैन, त्यसैमा ओइलिने पो की भय छ दुवैमा । मेरो चिया नसकिदै उनले एक सासमा आफ्नो प्रेम कहानीको फेहरिस्त लगाए ।  बन्धूलाई मैले सुझाव दिएको छु– अन्तरजातीय विवाह विद्रोहको एक अर्को रुप हो । विद्रोह रोज्नैपर्छ । तपाईंँहरूकै भाषामा क्रान्तिकारी कदम हो । त्यसै भनिएको होइन नी, ‘संसार बदल्नु छ भने सुरु आफैबाट गर्नुपर्छ । हिक्मत गर्नुहोस् ।’  जात व्यवस्थाको  जरो उखेल्न जरुरी छ । दिमागमा रहेको भाइरस हो यो । यसले हामीलाई सुसंस्कृत बन्न रोकिरहेको छ । अब कोहीले यस्तो कथा भोग्न नपरोस् । हामीले यस्ता विवशताका कथा लेख्न नपरोस् ।   जय –माया ।  

ताजा अपडेट

नेपालवाच विशेष