NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

प्रतिबद्धता कन्टेनरमा, दाउ फेरि मेयरमा

काठमाडौं । ०७४ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमार्फत मेयर निर्वाचित विद्यासुन्दर शाक्यले पुनः मेयरमा खडा हुने ताकमा देखिन्छन् । तर काठमाडौंबासीका दृष्टिमा उनी एक असफल मेयरमा दरिइसकेका छन् ।

आफ्नो कार्यकालमा काठमाडौं नगरको सौन्दर्य, विकास र आधुनिकीकरणमा कुनै योगदान पुर्‍याउन नसकेका र गफमै दिन काटेका मेयर शाक्यले उतिबेला ‘सय दिनभित्र सय काम गर्ने’ प्रतिज्ञा गरेका थिए । सय दिनभित्रको के कुरा, पूरै कार्यकालमा उनले आफ्ना प्रतिज्ञाका कुनै पनि बुँदा पूरा गरेनन् ।

आफ्नो प्रतिबद्धताबमोजिम शाक्यले अवैधानिक ढंगले अतिक्रमित जमिन फिर्ता ल्याउन त सकेनन् नै, बरु उनकै कार्यकालमा खुला क्षेत्रको व्यापक अतिक्रमण भयो । ऐतिहासिक धरोहर र सम्पदा व्यापारिक स्वार्थमा प्रयोग गरेर कमिसन कुम्ल्याउने धन्दा फस्टायो ।

उदाहरणका लागि ऐतिहासिक रानीपोखरीदेखि कमलपोखरीको पुनर्निर्माणका क्रममा मेयर शाक्यले परम्परागत सीप र शैलीको साटो कंक्रिट प्रयोग गर्न चाहे । नागरिक र उप–मेयरको विरोधका कारण यसमा उनी सफल भएनन् । रानीपोखरीमा झैं कमलपोखरीमा परम्परागत शैली मिच्न खोज्दा अहिले त्यहाँ स्थानीयबासिन्दाले मेयर शाक्यको चर्को आलोचना गरिरहेका छन् ।

महानगरवासीलाई दर्जनौं सपना बाँडेर तिनलाई अलपत्र छाडेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा दोहोरिने दाउमा छन्

उपत्यकाकै ललितपुर र भक्तपुरले धेरै तरक्की गरिसक्दा काठमाडौं भने भताभुंग, गञ्जागोल र कुरूप देखिन्छ । पुरानो बसपार्कको बिजोग छ । आर्थिक अनियमिततामा फसेर कालोसूचीमा परेका व्यवसायीलाई पुरानो बसपार्कमा टावर बनाउने ठेक्का दिइयो । जसले गर्दा अहिले खुलामञ्च बसपार्कमा परिणत भएको छ । ती व्यापारीले खुलामञ्च र बसपार्कमा अनैतिक काम गरिरहँदा मेयर शाक्यले रोक्ने कोसिस गरेनन् । त्यो पनि जनताकै विरोधबाट रोकियो ।

कन्टेनरमा प्रतिबद्धताहरू

मेयरमा शाक्यले ०७४ जेठमा ‘सय दिनमा एक सय दुई वटा गर्ने’ दाबी गरेका थिए । आफ्ना नेता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले झैं उनले पनि मोनोरेलदेखि पुरानो बसपार्कमा विजनेसपार्क बनाउने योजना ल्याए । पाँच वर्ष बितिसक्दा पनि उनको योजना गफमै सीमित छ ।

पुरानो बसपार्कमा अण्डरग्राउण्ड पार्किङसहितको बिजनेस टावर ०७८ साल साउनमै बनिसक्नुपर्ने हो । तर अहिलेसम्म आधा काम पनि सकिएको छैन । ‘मेट्रो सिटी’ र ‘स्मार्ट सिटी’का उनका योजना काठमाडौंको फोहरझैं कुडाकर्कटमा परिणत भएको छ ।

शाक्यले मेयर भएपछि गरेको भनेको आफ्ना लागि महँगो मोबाइल र विलासिताका सवारीसाधन खरिद गर्नु हो । आफ्ना कार्यालय त उनले चिटिक्क पारे, तर काठमाडौंको फोहरको समस्या उस्तै छ । जितपुरफेंदीमा अवस्थित सिसडोलमा फोहोर फाल्ने डम्पिङ साइटको समस्या उस्तै छ ।

काठमाडौंलाई स्वच्छ, धुँवा र धूलोमूक्त शहर बनाउन भन्दै महानगरले जेट र बुमरजस्ता उपकरण खरिद गर्‍यो । तर बुमरको बिजोग के भने, जतिसुकै सफा गरे पनि काठमाडौं उस्तै । शहर सफा गर्ने सही नीतिको अभावका कारण बु्रमरले धुलो सफा गर्ने क्रममै काठमाडौंमा झन् धुलो उडिरहेको देखिन्छ । ढलको राम्रो व्यवस्था छैन । वर्षायामको पानीले शहरका सडकमा हिलो ल्याएर थुपार्छ, सुकेपछि त्यही धुलो हुन्छ । ब्रुमरले जति सोरे पनि जस्ताको तस्तै । ब्रुमरले शहर सफा गरिरहेको नाटक भने मेयर शाक्यले जनतामाझ गरेकै हुन्, ताकि काम देखियोस् । अवस्था त जगजाहर छ ।

मेयर शाक्यका लागि लाज लाग्नुपर्ने विषय के हो भने, महानगरभित्रै पर्ने धरहरा र रानीपोखरी पुनर्निर्माण केन्द्र सरकारले आफ्नै बजेटमा गरेको हो । हनुमानढोकाको पुनर्निर्माण पनि सरकारले नै गरिरहेको छ । महानगरको कुनै भूमिका देखिएन ।

शाक्यको बाचाअनुसार ऐतिहासिक महत्त्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया पूरा भएन । ‘ग्रिन एण्ड क्लिन काठमाडौं’अन्तर्गत रुद्राक्षको बिरुवा रोप्ने हौवा पनि सेलायो ।

महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरूमा द्रुत गतिको निःशुल्क वाइफाईको गुड्डी हाँके । अहिले यी क्षेत्रमा वाइफाई चिह्न देखाउँछ तर चल्दैन । बाटो विस्तार गर्न पीडित समुदायसँग वार्ता गरेर समस्या समाधान गर्ने भनिएको थियो । तर यसमा पनि शाक्य असफल भए ।

‘साइकल सिटी महानगर’ को कार्ययोजना पनि कागजमै सीमित छ । यसैगरी प्रत्येक युवालाई खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधिलगायत रचनात्मक काममा आबद्ध गराउने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता पनि कन्टेनरतिरै अलपत्र परे ।
शाक्यले प्रतिबद्धता गरेको ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम पनि कागजमै सीमित भयो । .‘सही समय सही ठाम, नो ट्राफिक जाम को अभियान’को हालत त हरेक दिन काठमाडौंबासीले भोगिरहेकै छन् ।

चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासंघका सहकार्यमा बृहत् प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने योजना पनि अलपत्र पारियो ।

‘भोकरहित जनता शोकरहित महानगर’ का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने नारालाई पनि मेयर शाक्यले भुलिदिए । राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भनियो । उनको पाँच वर्षको कार्यकालमा जम्मा दुई पटक सुनुवाइ भयो ।

अहो, कम्ती आकर्षक थिएन, ‘काठमाडौँ महानगर झिलिक्क : घरघर टिलिक्क’ अभियान थाल्ने घोषणा । तर यो पनि शाक्यको दराजमै थन्कियो ।
सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उनीहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र/व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने शाक्यको योजना साकार भएन ।

नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने उनको प्रयास पनि सफल भएन । प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न बिरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने कुरा पनि हावामै बिलायो ।

घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्न महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने भनियो, पहुँच हुने केहीले पाए, बाँकीले पाएनन् ।

महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन दक्ष पथप्रर्दशकसहितको सुविधा सम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने योजना पनि कार्यान्वयन भएन ।

तीनकुनेको जग्गामा अहिले झाडी छ । त्यहाँको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने योजना पनि अघि बढाइएन ।
‘कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती’का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने मामिलामा पनि शाक्य असफल रहे ।

महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने भनियो, तर लागू गरिएन । डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने कुरा पनि हरायो । ‘काठमाडौं स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशीघ्र काम सुरु गर्न पनि शाक्य असफल रहे ।

भवन निर्माणमै भ्रष्टाचार

शहरको विकासको के कुरा, महानगरपालिकाले अहिलेसम्म आफ्नै भवन बनाउ सकेन । टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

भवन निर्माणको बोलपत्रको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरिएको पाइयो । ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इञ्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको अख्तियारको आरोप छ । अहिले चार जानै कर्मचारी निलम्बनमा छन् ।

महानगरका आफ्नै कर्मचारी भ्रष्ट भइरहँदा पनि मेयर शाक्य कुनै लज्जा महसुस नगरी भन्दैछन्, ‘फेरी मेयरमा उठ्नेछु ।’

मेयर विलासी गाडीमै मस्त

काठमाडौं शहर अस्तव्यस्त, मेयर बिलासी गाडीमै मस्त । महंगो मोबाइल किनेर मात्र चित्त नबुझी मेयर शाक्यले झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्युनर’ गाडी किने । हुन त, नयाँ गाडी झिकाउनुअघि मेयर शाक्यलाई महानगरले महँगै गाडी उपलब्ध गराएको थियो । उनले चढ्ने गाडी झण्डै १ करोडबराबरकै थियो । जुन गाडी मेयर शाक्य निर्वाचित हुनुअघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

मेयर शाक्य तिनै हुन् जसले काठमाडौंमा ढलमा परेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिँदा खाल्डा पुर्दा जनताको करबाट तिरेको रकम खेर जाने दलील दिएका थिए । उनै मेयरले महानगरसँग कण्डिसनको गाडी हुँदा–हुँदै पनि करिब डेढ करोडको नयाँ गाडी मगाए ।

महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रूपैयाँ बजेट छुट्याएको थियो । यसमध्ये २ करोड मेयर र उपमेयरकै गाडी किन्न खर्च गरियो ।