NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि

काठमाडौं । जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उत्पादन गरेर वितरण थालिएको छ । पाँच प्रकारका मोलिक्युल (कच्चा पदार्थ) प्रयोग गरी हाल नेपालमा सात किसिमका औषधि उत्पादन तथा वितरण भइरहेको हो ।

औषधि उत्पादक कम्पनी टिजिग फर्मा नेपालले नौ महिनाअघिदेखि सरकारी अनुमतिमा क्यान्सरका बिरामी र अस्पताललाई यी औषधि सुपथ मूल्यमा वितरण थालेको छ । औषधि व्यवस्था विभागको अनुमतिमै यी औषधि वितरण गरिएका हुन् । हाल नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, ललितपुरको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर, चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा काठमाडौंका वीर, त्रिवि शिक्षण र निजामती अस्ताललगायतमा ती औषधि वितरण सुरु गरिएको हो ।

यसबाहेक विभिन्न अस्पतालका चिकित्सकको प्रेस्काइबअनुसार कम्पनीले औषधि वितरण गर्दै आइरहेको छ । पछिल्लो समय दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीलाई यो औषधि किन्न स्वीकृति दिने गरेको छ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार क्यान्सरको औषधि उत्पादन गर्ने यो नेपालको पहिलो कम्पनी हो । डब्लुएचओको ‘प्रविधि हस्तान्तरणसम्बन्धी निर्देशिका’मा टेकेर औषधि वितरण गरिएको कम्पनीले जनाएको छ ।

मागअनुसार अस्पतालकै फार्मेसीमा वितरण गर्न टेन्डर प्रक्रियासमेत अघि बढाएको छ । हाल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरलगायत अस्पतालको फार्मेसीमा नेपालमै उत्पादिन क्यान्सरका औषधि किन्न पाइन्छ । यहाँको उत्पादनले करिब ८० प्रतिशत माग थेग्न सकिने टिजिगले जनाएको छ ।

टिजिगका कार्यकारी निर्देशक सैलेश वैद्यका अनुसार यसबाहेक अन्य १६ किसिमका औषधि विदेशमा निर्यात गर्ने तयारी पनि गरिएको छ । अस्पतालको मागअनुसार हाल भारतमा पनि उक्त औषधि पठाउने गरिएको छ । विदेशमा पनि आधिकारिक रूपमै औषधि सप्लाई गर्न तयारी पूरा भएको कार्यकारी निर्देशक वैद्यले बताए । उनका अनुसार अफ्रिकी मुलुकमा औषधि पठाउन परामर्श भइरहेको छ । विदेशमा पठाउन उत्पादन गरिने औषधिमा नौ प्रकारको मोलिक्युुल प्रयोग हुन्छ । ‘हामीले नेपालमा ३४ प्रकारका औषधि उत्पादनका लागि अनुमति पाइसकेका छौँ,’ उनले भने, ‘अब ती औषधि उत्पादन र वितरण सुरु गर्छौँ, नेपालमा चाहिने नेपालमै वितरण हुन्छ, यसबाहेक विदेशमा पनि निर्यात गर्छौँ ।’

टिजिगले उत्पादन गरेको औषधि सबैजसो क्यान्सर रोगविरुद्ध प्रयोग गर्न मिल्छ । फोक्सो, रगत, पाठेघर, मस्तिष्क, ठूलो आन्द्रालगायतमा हुने क्यान्सरविरुद्ध उक्त औषधि प्रयोग गर्न मिल्छ । यसबाहेक थप ३४ प्रकारका मोलिक्युलको प्रयोग गरी ५३ किसिमका औषधि उत्पादन गर्ने तयारी पनि टिजिगले गरेको छ । यसमध्ये १३ प्रकारका मोलिक्युलको प्रयोग गरी उत्पादित २३ किसिमका औषधि उत्पादन र वितरण गर्न औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

नेपालमा हाल क्यान्सर रोगसम्बन्धी उपचार हुने स्वास्थ्य संस्थाको संख्या पनि बढ्दै छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पतालभित्र सञ्चालित सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरलगायत अस्पतालले सरकारी तवरबाट उपचार सेवा दिँदै आइरहेका छन् । नेसनल क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, वीर अस्पताल, ओम, ग्रान्डी, बिएन्डबी, ह्याम्स, मेडिसिटी, भक्तपुर र काठमाडौं क्यान्सर सेन्टर, निजामती अस्पताल, झापास्थित पूर्वाञ्चल क्यान्सर सेन्टर, चितवनस्थित सिएमसी क्यान्सर सेन्टरलगायत निजी अस्पतालहरू पनि सञ्चालनमा आइसकेका छन् ।

टिजिगले हाल क्यापासिटाविन, हाइड्रोअक्सी युरिया, मेलफलान, टेमोजोलमाइड, गेफेटिनिवलगायत औषधि उत्पादन गर्छ । उत्पादन भइरहेका औषधि क्यान्सरको केमोथेरापीको वेला मुखबाट खाने क्याप्सुल तथा ट्याब्लेट हुन् । यी औषधिको मूल्य प्रतिक्याप्सुल एक सयदेखि एक हजारसम्म पर्छ । यसबाहेक अन्य महँगो पर्ने क्याप्सुल पनि आवश्यकताअनुसार उत्पादन गरिने कम्पनीका कार्यकारी निर्देशक वैद्यले बताए । नेपालमै पहिलोपटक टिजिग फर्माका कार्यकारी निर्देशक वैद्य ‘वल्र्ड बुक अफ रेकर्ड’ रच्न सफल भएका छन् । वैद्यलाई वल्र्ड बुक अफ रेकर्डको नेपाल च्याप्टरले सम्मानितसमेत गरेको छ । नेपालमा पहिलोपटक क्यान्सरको औषधि उत्पादन गरेर बिक्री–वितरण गरेपछि उनलाई मंगलबार उक्त सम्मान प्रदान गरिएको हो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।