NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राष्ट्रपतिमा झलनाथको खोजी : कति सम्भव ?

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय विवाद चुलिएको छ । पूर्वसहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डमाथि निरन्तर दबाब बढाइरहेका छन् । ओलीको दबाबबाट टसको मस नभएका प्रचण्ड राष्ट्रिय सहमतिको आधारमा साझा उम्मेदवार बनाउनुपर्ने अडान कायमै राखेका छन् ।

१० पुसमा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री भएका थिए । तर पूर्वसहमति बमोजिम एमालेलाई राष्ट्रपति दिन प्रधानमन्त्रीले आनाकानी गरेपछि उनीसँग ओली सशंकित छन् । अर्कातिर राष्ट्रपतिको निर्वाचनमा माओवादीकोसमेत समर्थन पाउने विश्वास प्रमुख प्रतिपक्षी दल कांग्रेसले लिएको छ ।

एमालेलाई राष्ट्रपति नदिने सर्तमा प्रचण्डलाई विश्वासको मत दिएको आशंका ओलीले गरेका छन् । बढ्दो आशंकाबीच प्रधानमन्त्री प्रचण्ड र ओलीबीच डेढमहिनामा पाँचौ पटक भेटवार्ता भइसकेको छ । दुई शीर्ष नेताबीच बालुवाटार–बालकोट ओहोरदोहरले पनि सत्ता संकट गहिरिँदै गएको संकेत देखिन्छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी गरेको छ । तर उम्मेदवारको विषयमा सत्ता पक्ष र विपक्षीले कुनै निर्णय लिन सकेका छैनन् ।

राष्ट्रपति राष्ट्राध्यक्ष समेतको भूमिकामा रहने हुँदा विगतका गल्तीबाट पाठ सिकेर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउनु पर्नेमा माओवादी केन्द्रका नेताहरूको जिकिर छ । प्रधानमन्त्रीको चाहना पनि राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चुनिनुपर्ने रहेको प्रधानमन्त्री निकट एक नेताले बताए ।

‘दलीय आवद्धबाट राष्ट्रपति बन्दा शक्ति सन्तुलन खलबलिएको, त्यस्ता व्यक्ति राष्ट्रिय स्वार्थभन्दा पनि दल केन्द्रित स्वार्थमा लागेको विगतको घटनाले पाठ सिकाएको छ’, ती नेताले भने, ‘प्रधानमन्त्रीज्यू विगतको गल्ती दोहोर्याउने पक्षमा योपटक छैनन् । जसलाई उम्मेदवार बनाएपनि कमसेकम राष्ट्रिय सहमति होस् भन्ने चाहना उहाँको छ । समय बाँकी नै रहेकाले मूख्य दलहरू एक ठाउँमा आउने विश्वास उहाँले लिएका छन् ।’

राष्ट्रिय सहमतिको नाममा प्रधानमन्त्री प्रचण्ड कांग्रेसको भुलभुलैयामा परेको एमालेका नेताहरूको आरोप छ । पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार गठन गर्नुअघि दलहरूबीच भएका सहमति सबैले इमान्दार भएर पालना गर्नुपर्ने बताउँछन् ।

‘प्रधानमन्त्रीको हैसियतमा सत्तापक्ष र प्रतिपक्षबीच सम्बन्ध स्थापित गर्नु राम्रो विषय हो । तर दुवै पक्षसँग सम्बन्ध राखेकै आधारमा पूर्वसहमति उहाँले तोड्नुहुन्छ भन्ने मलाई विश्वास छैन । सबै पक्ष यसमा इमान्दार हुनु जरूरी छ’, उनले भने ।

राष्ट्रपतिको विषयलाई लिएर प्रचण्ड र ओलीबीच एकअर्कामा अविश्वासको खाडल बढ्दै जाँदा नयाँ–नयाँ पात्रको खोजी भइरहेको छ । पछिल्लो समय राष्ट्रतिमा पूर्वप्रधानमन्त्री झलनाख खनालको चर्चा भइराखेको छ । गतवर्ष भदौमा एमालेसँग विद्रोह गरी वाम–लोकतान्त्रिक गठबन्धनमा आवद्ध रहेका उनी मंसिर ४ मा इलाम क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । तत्कालीन गठबन्धनकै सहयोगमा राष्ट्रपति बन्ने चाहना राखेका थिए । तर प्रचण्डले गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि राष्ट्रपति बन्ने खनालको चाहनामा ब्रेक लागेको थियो ।

निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री लिए राष्ट्रपति आफूले पाउनु पर्ने अडान नेकपा एसले लिएको थियो । शक्ति सन्तुलनको आधारमा कांग्रेसले प्रधानमन्त्री, माओवादी केन्द्रले सभामुख र नेकपा एसले राष्ट्रपति लिने गरी छलफलअघि बढीरहेको अवस्थामा गठबन्धन भत्किएपछि प्रचण्डबाट धोका भएको एकीकृत समाजवादीका नेताहरूले गुनासो गर्दै आएका छन् । राष्ट्रपतिका लागि ओलीबाट निरन्तर दबाब खेपेका प्रचण्डले विभिन्न बाहनामा ओली नेतृत्वको उच्चस्तरी राजनीति संयन्त्रको बैठक टार्दै आएका थिए । शुक्रबार संयन्त्रको बैठक बस्नुअघि उनले बिहीबार पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झण्डै तीन घण्टा गोप्य छलफल भएको छ ।

खनाल निकट एक नेताका अनुसार गोप्य छलफलमा राष्ट्रपतिको साझा उम्मेदवार चयन, वामपन्थीबीच एकतादेखि सत्ता सहकार्यसम्म छलफल भएको थियो । राष्ट्रपतिको विकल्पमा तयारी अवस्थामा रहन प्रधानमन्त्रीले खनाललाई प्रस्ताव गरेको उनी निकट नेताको दाबी छ ।

‘प्रधानमन्त्रीको सचिवालयबाट फोन आएपछि छलफलका लागि बिहीबार जेएन कमरेड प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । एमालेलाई राष्ट्रपति दिँदा भोलि हुने संवैधान र लोकतन्त्रमाथि हुनसक्ने संकटतर्फ दुवै नेताबीच गहन छलफल भयो । राष्ट्रपतिमा एमाले र कांग्रेसले दाबी गरिरहेको अवस्थामा विकल्पमा तपाईं उम्मेदवार बन्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि तयार भएर बस्नोस्’, प्रधानमन्त्रीको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।

यसै विषयमा खानालले मंगलबार मुख खोल्दै राष्ट्रपतिमा एकीकृत समाजवादीले उम्मेदवारी दिने बताए । प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताइका हुन् ।

‘मेरो विषयमा चर्चा गरिदिएकोमा तपाईंलाई धन्यवाद छ । राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेण्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने ।

खनाल राष्ट्रपति बन्ने सम्भावना कति ?

गएको निर्वाचनमा राष्ट्रिय दलको मान्यतासमेत नपाएको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जम्मा १० सिट जितेको छ । २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उसले राष्ट्रपति पाउनेमा नेताहरू नै विश्वास गरिरहेका छैनन् । पछिल्लो समय राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री र ओलीबीच विवाद भएपछि त्यसको मध्यमार्गी बाटोमा जाँदा राष्ट्रपतिको चिट्ठा एकीकृत समाजवादीलाई पर्न सक्ने खनाल निकट नेताको बुझाइ छ ।

विपक्षी कांग्रेससँग पनि बहुमत नरहेको अवस्था र सत्ता गठबन्धनबीच पनि बढ्दो संकटकाबीच सर्वमान्य पात्रको रुपमा खनाल साझा उम्मेदवार बन्न सक्ने नेताहरूको तर्क छ । खनालाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमेत सकारात्मक भएको र प्रचण्डकै चाहनामा दुई नेताबीच भेटवार्ता भएको खनाल निकटस्थको दाबी छ ।

‘प्रधानमन्त्रीको विचार सुन्दा एमालेलाई राष्ट्रपति बनाएर रिक्स लिन चाएका छैनन् । एमालेबाट उम्मेदवार बनाएपनि ओलीका ‘एस म्यान’ राष्ट्रपति बन्ने हुन् । ओलीको विश्वास पात्र राष्ट्रपति बन्दा विगतमा संसद, संविधान र लोकतन्त्रमाथि प्रहार भयो’, ती नेताले भने, ‘कांग्रेसले पनि माओवादीको सहयोगमा राष्ट्रपति हत्याउन च्याँखे दाउ थापेको देखियो । कांग्रेसको राष्ट्रपति भएकै कारण २०६४ मा प्रचण्ड सरकार ढल्यो । यस्तो अवस्था दुवै दललाई राष्ट्रपति बनाउने मुडमा प्रधानमन्त्री देखिँदैन । यस्तो अवस्थामा बाध्य भएर एमालेले खनाललाई नै समर्थन गर्ने विश्वास हामीलाई छ’, ती नेताले भने ।

तर एकीकृत समाजवादीका नेताहरूको दाबीको खण्डन गर्दै नेम्बाङले त्यो सम्भावना नरहेको जिकिर गरे । राष्ट्रपतिमा संविधान र कानुन अनुसार दाबी गर्न पाउने भन्दै उनले पूर्वसहमतिबाट प्रधानन्त्रीज्यू बाहिर नजाने विश्वास व्यक्त गरे ।

‘एमालेको समर्थन पाएर उहाँ प्रधानमन्त्री हुनु भएको छ । तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बन्ने चाहना कांग्रेसबाट धोका भएको उहाँले राम्रोसँग बुझ्नु भएको छ । मलाई विश्वास छ, सहमतिभन्दा बाहिर प्रधानमन्त्रीज्यू जनुहुन्न’, उनले भने ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय सहमतिका आधारमा काम गर्ने चाहनासाथ हाम्रा अध्यक्ष तेस्रो पटक प्रधानमन्त्री बनेकाले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति होस् भन्ने चाहना राख्नु स्वभाविक भएको जिकिर गरे । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच छलफल जारी रहेकाले अहिले नै यस विषयमा केही भन्न नमिल्ने उनले तर्क गरे ।

‘राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार छनोट गर्न प्रधानमन्त्रीज्यूले अधिकतम प्रयास गरिरहनुभएको छ । राष्ट्रपति एमालेलाई दिनेबारे पूर्वसहमति भएको भए त्यसबाट दायाँबायाँ गर्न मिल्दैन । उहाँसँग बुझ्दा त्यस्तो केहि नभएको बताएका छन् । जसलाई राष्ट्रपति बनाएपनि दलहरूबीच अधिकतम सहमति होस् भन्ने चाहना उहाँको छ’, उनले भने ।

संघीय प्रतिनिधिसभा र प्रदेशसभाको अंकगणित हेर्दा सत्ता पक्षसँग भारी मतभार रहेको छ । कसलाई राष्ट्रपति बनाउने भन्ने निर्णायक शक्तिमा माओवादी केन्द्र रहेको देखिन्छ । प्रचण्डले जसलाई चाहना गरे उनै राष्ट्रपति बन्ने सम्भावना देखिएकाले एमाले र कांग्रेसको तानातानमा प्रचण्ड रहेका छन् । यस्तो अवस्थामा दुवै पक्षलाई चिढ्याएर जाने पक्षमा प्रचण्ड देखिएका छैनन् ।