NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कर्मचारीलाई तलब दिन नसकेपछि प्राधिकरणले रोक्यो गुणको उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सको सबै उडानमा रोक लगाएको छ ।

कर्मचारीलाई समयमा तलब दिन नसकेको बताउँदै प्राधिकरणले उडान बन्द गराएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार क्याबिन क्रुलाई तलब दिन नसक्दा उडानमा पनि प्रत्यक्ष असर पर्ने हुँदा उडान सुरक्षालाई मध्यनजर गर्दै सेवा बन्द गराइएको हो ।

‘संस्थामा अहिले आर्थिक समस्या छ भन्ने हाम्रो जानकारीमा आएपछि बुझ्दै जाँदा हवाइ सेवामा प्रत्यक्ष संलग्न कर्मचारीलाई पनि तलब नदिएको पाइयो,’ उनले भने, ‘यसरी हवाइ सेवाकै कर्मचारी भोको पेटमा रहेपछि उडान सुरक्षामा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले बन्द गर्न पत्र पठाएका हौं ।’

उनका अनुसार अब अर्को सूचना जारी नभएसम्मका लागि गुणको सेवा बन्द रहनेछ । सिम्रिक एयरलाइन्सका विमान खरिद गरेर गुणले सेवा दिँदै आएको थियो । प्राधिकरणले सोमबार पत्र लेखेसँगै अब गुणका सातवटै जहाजका सेवा बन्द भएका छन् ।