NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

म्याराथनमा प्रचण्ड, पहिले पुरानो गठबन्धन, त्यसपछि ओलीसँग वार्ता

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक माहोल गर्माइरहेका बेला प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गतिविधि ह्वात्तै बढेको छ । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि पुरानोलाई ब्युँताउने भन्नेमा अनिर्णित प्रचण्डले यसबारे ठोस निर्णय लिन बिहानैदेखि भेटवार्ता र छलफललाई तीव्र पार्दै छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत गत निर्वाचनमा सहकार्य गरेका दल सम्मिलत गठबन्धनको बैठक अहिले केहीबेरमा बस्दैछ ।

कांग्रेसका एक नेताले राष्ट्रपतीय निर्वाचनमा सहकार्य गर्ने तथा पुरानो पाँचदलीय गठबन्धन ब्युँताउने विषयमा निर्णायक छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

फागुन २५ का लागि तय राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन शनिबार हुँदैछ । राष्ट्रपतिमा सुरुदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएको माओवादी अहिलेको गठबन्धन छाडेर निर्वाचनताकाको गठबन्धन ब्युँताउने रणनीतिमा छ ।

प्याकेजमै सहमति खोजेको माओवादीले आफ्नो सरकारको सुनिश्चितता खोजेको छ । यसका लागि विभिन्न चरणमा कांग्रेस र माओवादी संवादमा बसेका छन् । तर सहमति जुटिसकेको छैन । पुरानो गठबन्धन दलभित्रै पनि मतान्तर देखिएका छन् । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि माधवकुमार नेपालले त्यसमा अडान लिएका छन् । यसले कांग्रेस र माओवादीलाई सहमति जुटाउन पेचिलो पर्ने ठानिएको छ ।

यसैबीच, प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि आजै निर्णायक वार्ता हुँदैछ । पहिले पुरानो पाँचदलीय गठबन्धनको बैठक गरेपछि ओलीसँग वार्ता गर्ने प्रचण्डको तयारी छ ।

एमाले अध्यक्ष ओलीले गठबन्धन जोगाउन अधिकतम लचकता अपनाएका छन् । सुरुमा पार्टीभित्रैबाट राष्ट्रपति उम्मेदवार बनाउने पक्षमा रहेका उनले माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन् । तर यसले पनि सहमति नबन्ने खतरा बढेको छ । माधवलाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादी दल एमालेमा बिलय हुने र ओली थप बलियो बन्ने भयले प्रचण्ड माधवलाई राष्ट्रपति बनाउने पक्षमा छैनन् ।

स्रोतका अनुसार, एमाले अध्यक्ष ओली गठबन्धन जोगाउन नसकिने निष्कर्षमा पुगिसकेका छन् । बिहीबार मात्रै उनले वर्तमान सरकारको एउटा निर्णयप्रति कटाक्ष गर्दै अभिव्यक्ति दिएका थिए, जसलाई गठबन्धन टुट्ने संकेतका रूपमा बुझिएको छ ।