NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
राजनीति

राष्ट्रपति निर्वाचनका केही तथ्य

काठमाडौं । संघीय सांसद र प्रदेश सांसदले आगामी पाँच वर्षका लागि बिहीबार देशको राष्ट्रपति चयन गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि यही फागुन २८ मा समाप्त हुन लागेपछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा रामचन्द्र पौडेल र सुवास नेम्वाङ आमनेसामने छन् । कांग्रेस वरिष्ठ नेता पौडेल आफ्नो दलसँगै माओवादी केन्द्रलगायत आठ दल सम्मिलित गठबन्धन र नेम्वाङ एमालेको समर्थनमा  उम्मेदवार बनेका हुन् ।

अहिलेसम्मको माहोल हेर्दा राष्ट्रपतिमा पौडेलको सम्भावना बढी र नेम्वाङको कम देखिन्छ । तथापि, अहिले नै यही राष्ट्रपति हुन्छ भनेर यकिन गर्न सकिने अवस्था भने छैन । परिणाम जतातिर ढल्किए पनि मुलुकको तेस्रो राष्ट्रपति यी दुईमध्ये एक हुनेछन् । यसअघि रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

राष्ट्रपति निर्वाचनको इतिहास

मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै मुलुकमा पहिलो पटक ०६५ साउन ४ गते राष्ट्रपति निर्वाचन भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरेका थिए । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरूबीच यदि सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत) ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना ९०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष