NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बैतडी विमानस्थल टिकटक बनाउने थलो, बस्दैन जहाज  

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।

प्रत्येक बिहीबार धनगढी-पाटन-धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन ।

यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’

पाटन-धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर पाँच हजार पुगेको थियो । हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए ।

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ’, उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

करोडौँका संरचना प्रयोगविहीन

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् ।

तीन वर्षअघि ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ ।

विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताए ।

उनले भने, ‘थुपै्र पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताए ।

उनले भने, ‘भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । भाडा समायोजन गरे यात्रुहरु पनि पाइन्छन् ।’ विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् ।

नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए । उनले भने, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।’

धावनमार्ग टिकटक बनाउने थलो

जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ ।

उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ ।

विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् । द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो ।

विसं २०३६ देखि २०५२सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो । छब्बिस वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी-बैतडी-धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो ।