NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते
राजनीति

वैद्यको पार्टी फुट्यो, निरंकुश र सामन्ती रवैया देखाएको आरोप

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा विभाजन आएको छ । एकीककरण प्रक्रियामार्फत एक वर्षअघि पार्टीमा भित्रिएका सचिवालय सदस्य समरजङ्गलगायत असन्तुष्ट एक दर्जन नेता सो पार्टीबाट अलग भएका हुन् । उनीहरूले पार्टीसँगको सम्बद्धता अन्त्य गर्दै सो दल भंग भएको घोषणासमेत गरेका छन् ।

जनयुद्धमा तत्कालीन माओवादीलाई सैद्धान्तिक र दार्शनिक पाटोबाट प्रशिक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका वैद्य दोस्रो संविधानसभा निर्वाचनपछि प्रचण्डसँग वैचारिक, राजनीतिक कार्यदिशालगायतमा गम्भीर असहमति जाहेर गर्दै बादल, विप्लवलगायत नेता लिएर अलग भएका थिए । पछि विप्लवले अलग दल खोलेपछि रक्षात्मक बन्न पुगेका सादगी, सिद्धान्तनिष्ठ, इमानदार नेता किरणले गत वर्ष मात्रै नेकपा (बहुमत) सँग एकता गरेका थिए । सोही समूहबाट पार्टीमा भित्रिएकाहरू असन्तुष्ट हुँदै अहिले बाहिरिएका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य समरजङ्गले एक प्रेस वक्तव्य जारी गर्दै वैद्य नेतृत्वको दलमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखिएकाले अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् ।

‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा देखापरेका गम्भीर वैचारिक, राजनैतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्याहरूका कारण हामी उक्त पार्टीको विभिन्न तहमा रहेको नेतृत्व पंक्ति गत वर्ष वैशाख १८ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भई गठित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भंग भएको घोषणा गर्न बाध्य भएका छौं,’ सचिवालय सदस्य समरजङ्जसहित ११ जनाको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीबाट अलग हुनेमा हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, ई. नवराज भट्टलगायत छन् । पार्टी भंगको घोषणा गर्नेहरू विभिन्न संगठनको जिम्मेवारीमा रहे पनि खुलाइएको छैन ।

पार्टीमा देखिएका समस्या समाधान गरेर गति दिने विषयमा पार्टी अध्यक्ष किरणसमक्ष पटक–पटक अनुरोध गरेको तर यसमा उनले ठोस पहल नगरेको बरू ०८० असोज १६–२२ को पार्टी केन्द्रीय समितिको निर्णय लत्याएको, नवौं महाधिवेशनलाई अनिश्चितताको भुमरीमा धकेलेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । जनवादी केन्द्रीयताको उल्लंघन गर्दै पार्टी एकताका नाममा केन्द्रीय समिति पंगु बनाएको, पार्टीलाई गुट र निहीत आर्थिक स्वार्थको बन्दी बनाइएको संगीन आरोप पनि यो समूहले किरणमाथि लगाएको छ ।

जनयुद्ध सम्बन्धमा असहमति जनाएको समूहसँगको एकताप्रति पनि यो समूहले असन्तुष्टि जनाएको छ । नयाँ विश्व एवं राष्ट्रिय परिस्थितिमा सामन्तवाद कि पुँजीवाद, जनवाद कि समाजवाद, माओ विचारधारा कि माओवादजस्ता विषयमा पछाडि पर्किएर सामन्तवात, जनवाद, माओ विचारधाराको बहसमा रुमल्लिँदै क्रान्तिलाई गुमराहमा पारेको थप आरोपसमेत यो समूहले किरणलाई लगाएको छ ।

किरण नेतृत्वको दल निरंकुश एवं घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको संगीन आरोप पनि यो समूहले किरणलाई लगाएको छ । साथै उसले यो समूहको कुनै भ्रममा नपर्न पनि आमनागरिकलाई अपिल गरेको छ ।