NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भूकम्प पीडितका लागि निजी क्षेत्रको सहयोग, कसले कति गर्दैछन् ?

काठमाडाैं । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार मध्य रातमा ६.४ रेक्टरको भूकम्प जाँदा त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् भने दर्जनाैँ घाइते भएर उपचाररत छन् ।

यतिबेला भूकम्प पीडितको उद्धार र राहतको लागि विभिन्न निकाय सहयोग र राहतका लागि जुटेका छन् । राहत र उद्धारका लागि सरकारी निकायसहित विभिन्न निजी क्षेत्रले सहयोग र राहतको प्रतिबद्भता जनाइरहेका छन् ।

सरकारले भूकम्पमा घाइते भएकाहरूको नि: शुल्क उपचार गर्ने घोषणा गरेको छ भने  मृत्यु भएका परिवारलाई प्रतिमृतक दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णयअनुसार भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न चाहानेले सरकारले उपलब्ध गराएको खातामा रकम जम्मा गर्न सक्छन् तर राहतसहयोगको नाममा सहयोगको अपिल गरेर जिन्सी सामानको संकलन गर्न नपाउने गृहमन्त्रालयले जनाएको छ ।

हालसम्म विभिन्न  निजी स्तरबाट  भूकम्प पीडितको लागि राहतको प्रतिबद्धता भइरहेका छन् ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने घोषणा गरेको हो ।

नबिल बैंक

नबिल बैंकले एक करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्ता जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्ता जनाएको हो ।  जाजरकोट र रूकुपश्चिम भूकम्पपीडितको लागि सहयोग गर्नका लागि राहतसहितको टोली उक्त स्थल हिँडिसकेको बैंकले जनाएको छ ।

एनआइसी एशिया बैंक 

एनआई सी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग गर्ने भएको छ।

एनसेल

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराएको छ । यसरी पाइने सेवामा देशका अन्य नेटवर्क र विदेशमा समेत कल गर्न सकिने सेवा रहने छन् ।

एलए (लिटिल एन्जेल्स) एजुकेसन ग्रुप

आमाबुबा दुवै गुमाएका बालबालिकालाई एलए (लिटल एन्जेल्स) एजुकेसन ग्रुपले नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । ग्रुपका संस्थापक उमेश श्रेष्ठ र विद्या लिम्बुले भूकम्पमा आमाबुबा गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरेर १० जना बालबालिकालाई उच्च माध्यामिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षा संस्थाबाट नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको हो ।

निशुल्क शिक्षा प्रदान गर्न न्युनतम २ करोड रूपैयाँको छात्रवृति उपलब्ध गराउने निर्णय गरेको संस्थापक श्रेष्ठले बताए ।

बुद्ध एयर

बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेको छ। साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध रहेको जनाएको छ ।

कैलाश हेलिकप्टर

कैलाश हेलिकप्टर कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आह्वान राज्यको विपत कोषमा १० लाख रुपैयाँ(१० लाख) सहयोगको घोषणा गरेको छ ।

एनआरएनए

जाजरकोट भूकम्पप्रभावितलाई एनआरएनएले लागि १ करोड १० लाख रुपैयाँको सहयोग गर्ने घोषणा गरेको छ । त्यसको लागि एनआरएनएले तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावित क्षेत्रको लागि १० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल चेम्बर अफ कमर्स 

नेपाल चेम्बर अफ कमर्सले भूकम्पप्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायतका सामग्री सहयोग गर्ने भएको छ ।