NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

संस्थागत सुशासन सुधार्न संस्थानलाई अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थागत सुशासनमा जोड दिन विभिन्न संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार र बिहीबार आयोगको केन्द्रीय कार्यालयमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग दुई दिने अन्तरक्रिया कार्यक्रम गरी यस्तो निर्देशन दिएको हो ।

कार्यक्रमको पहिलो दिन आयोगका पदाधिकारीहरू र सार्वजनिक नियामक निकायका प्रमुखहरूको उपस्थितिमा आयोगले दिएका सुझावहरूको कार्यान्वयनबाट भएका उपलब्धिहरू, सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो । कार्यक्रममा आयोगका तर्फबाट प्रस्तुतीकरण समेत भएको थियो।

कार्यक्रमको दोस्रो दिन आयोगका पदाधिकारीहरू, संस्थान सम्बद्ध विषयगत मन्त्रालयका सचिवहरू र सार्वजनिक संस्थानका प्रमुखहरूको समुपस्थितिमा सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको प्रवक्ता भोला दाहालले बताए । कार्यक्रममा आयोग र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको तर्फबाट छुट्टाछुट्टै प्रस्तुतीकरण भएको थियो ।

छलफलपछि सहभागी निकाय तथा संस्थाका प्रमुखहरूलाई प्रमुख आयुक्त र आयुक्तहरूबाट सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने, कानुनको अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए । आयोगबाट दिइएका सुझावहरूको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने, संस्थानहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी उत्पादकत्व बृद्धि गर्नेतर्फ लाग्नुपर्ने, विषयगत मन्त्रालयहरूले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नु निर्देशन दिएका छन् । सार्वजनिक निकायहरूले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्द्धन गर्ने कार्य गर्नुपर्ने लगायतका विषयमा आवश्यक सुझाव तथा निर्देशनसहित कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष