NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

यातायातका सात कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्रि गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सात जनालाई दोषी ठहर गरेको हो ।

यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखरामा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराललाई सोमबार बिशेषले दोषी ठहर गरेको हो । चार चैत २०७८ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र अधिकृत हरिप्रसाद गौतमले भने सफाई पाएका छन् । उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुलाई पास गराएका थिए ।