NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

किन सुके काठमाडौं उपत्यकाका हिटी ?

नेवार सस्कृतिसँगै विकास भएको ‘ल्वह हिटी’ र ‘फाल्चा’ लाई अहिले ढुङ्गे धारा र पाटी भन्ने चलन छ । यी दुईको नेपालीकरण गरिए पनि मिलेको छैन । शाब्दिक अर्थलाई ख्याल नगरी यी शब्दलाई प्रयोगमा ल्याइएको छ ।

सामान्यतया हिटी भनेको प्रणाली हो । यसमा पानी आउने ठाउँ, पानीका मुहान, त्यहाँबाट ल्याउने हिटीको डुँड, पोखरी र राजकुलो, वेटल्याण्डलगायत कुराहरू जोडिएका हुन्छन् । माथि नै भनिसकेँ हिटीलाई नेपालीकरण गरेर ढुंगेधारा बनाइएको छ । ढुंगेधाराले पानी झर्ने ठाउँ वा ढुंगाको डुँडलाई बुझाउँछ । हिटी भनेको यति मात्र होइन । नेवारी भाषामा डुँडबाट पानी झर्ने यस्तो प्रक्रियालाई हिटीमङ्ग भन्ने गरिन्छ । यो अत्यन्तै पुरानो प्रणाली हो ।

नियमित पानी आइरहेको वा अहिले चलिरहेको हिटी भनेको मंगलबजारको हो । जुन पुरानो हिटीको रूपमा परिचित छ । अध्ययनहरूले उक्त हिटी १ हजार ५ सय वर्ष अगाडिदेखि सञ्चालनमा आएको देखाएको छ । पछिल्लो समय हिटीका मुहान र इनारहरू सुक्दै जान थालेका छन् । बढ्दो सहरीकरणसँगै मानिसको चाप बढ्दै जाँदा जमिनमुनिबाट पानी निकाल्ने काम बढ्दै गएको छ ।

अहिले सबै मानिसको घर-घरमा इनार छन् । नेवारी सभ्यतामा इनार कहिले पनि निजी थिएन । समयको अन्तरालसँगै हामीले कंक्रिटको रिङ बनाउन जान्यौं, सस्तो चाइनिज मोटर उपलब्ध भयो । जसले गर्दा घरघरमा इनार खनेर जमिनमुनिको पानी तान्न वा निकाल्न थालियो । फलतः जमिनमुनिको पानीको सतह हिटीको मुहानको तहभन्दा तल गयो । हिटी सुक्नुको मुख्य कारण यही हो । यसको संरक्षण र सम्बद्र्धन गर्न सकिने ठाउँ अहिले पनि छ । व्यक्तिगत तहबाट पनि यसलाई बचाउन केही गर्न सकिन्छ ।

अहिले घरैघर बनेको काठमाडौंमा पहिले कतै खेतैखेत त कतै जंगल थियो । वर्षाको पानी जमिनले सोस्थ्यो । आकाशबाट आएको पानी जमिनले सोस्थ्यो । जमिनले सोसेर बढी भएको पानी खोल्सातिरबाट बग्दथ्यो । जमिनभित्र पानी पुनः भरण हुन्थ्यो । तर अहिले घर, बाटो निर्माण गर्दा आकाशबाट परेको पानी जमिनभित्र जान पाएन । इनार बनाएर हामी सबैले घर–घरबाट पानी निकाल्यौं । जसले गर्दा हिटीमा दोहोरो मार पर्न गयोे । त्यसैले प्रत्येक घरले वर्षाको पानीबाट रिचार्ज हुने अवस्था सिर्जना गरिदिने हो भने जमिनभित्र पानी जान सक्थ्यो ।

हिजो स्वतः प्राकृतिक हिसाबले जमिनको सतहमुनि जाने पानी जान नपाउँदा हिटी मात्र नभई अन्य ऐतिहासिक सम्पदाहरू पनि मासिँदै गएका छन् । यदि पुनः भरन इनारको काम गर्ने हो भने हिटीहरू यसरी सुक्ने थिएनन् । हिटीलाई जलवायु परिवर्तनले पनि नकारात्मक प्रभाव पारेको छ । जलवायु परिवर्तनकै कारण खडेरी पर्ने अथवा जमिन सुख्खा हुने गरेका छन् ।

समयमा वर्षा नहुने, भइहाले पनि लामो समयसम्म नहुनेजस्ता दुश्प्रभाव यसले निम्त्याएको छ । वर्षा भए पनि एकैछिन मात्र हुँदा जमिनले पानी सोस्न पाउँदैन । जमिनभित्र राम्रोसँग पानी पुगेन भने त्यसको सिधा असर वा प्रभाव हिटीमा पर्छ ।

हिटी संरक्षण र सम्बद्र्धनका लागि स्थानीय सरकारले ‘लिप्स सर्भिस’ अर्थात् ओठे सेवा मात्र गरिरहेको छ । स्थानीय सरकारले हिटीहरू जोगाउनु पर्छ त भनेको छ तर त्यसको मुहानप्रति संवेदनशील भएको पाइँदैन । अहिले पुराना हिटीहरू पुनर्निर्माण गरिए पनि यी आत्माबिनाका छन् । किनभने, हिटीको आत्मा पानी हो । त्यसमा बग्ने पानी चाहिन्छ । पानीका मुहानहरू सुक्दै गएपछि नयाँ हिटी निर्माण गरेर मात्र त्यसको अर्थ हुँदैन ।

ललितपुरमा तत्काल सप्त पातहल पोखरी बनाउने, टीका भैरवको राजकुलोलाई पुनः जीवित गर्ने र पोखरीलाई पुनः भरन गर्ने केही प्रयासहरू भएका छन् । अन्य ठाउँहरूमा खासै केही पनि भएको छैन् । भक्तपूर र काठमाडौंमा पानीका मुहानहरू सुक्दै गएका छन् भने राजकुलो तथा पोखरीहरू मासिँदै गएका छन् । ललितपुरमा पनि यस्ता थुप्रै राजकुलाहरू, पानीका मुहान, पाखरीहरू थिए । अहिले धेरै मासिए, केही बाँकी छन् । केही राजकुलो र पानीका मुहानहरू अझैसम्म पनि भएकै कारण ललितपूरमा पानीको सम्भावना बोकेको छ ।

यसलाई जोगाउनका निम्ति हामीहरू सक्रिय रूपमा अघि बढिरहेका छौं । यदि राजनैतिक इच्छा शक्ति हुने हो भने ललितपुरमा पुनः हिटी ब्युँताउन सकिन्छ । यदि हिटी प्रणाली लगायत पानीको व्यवस्थापन गर्ने हो भने सबैले आ–आफ्नो घरमा पुनः भरन को काम गर्न जरुरी छ । पुनः भरनको काम अनिवार्य गर्ने हो भने त्यसबाट कुनै पनि परिवारलाई हानि-नोक्सानी हुँदैन् । प्रकृतिलाई फाइदा नै फाइदा हुन्छ । हिटीको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।

(सहरी विकासविद् जोशीसँगको कुराकानीमा आधारित) 

ताजा अपडेट

नेपालवाच विशेष